‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्दै कामपा
SamacharDesk – बिराज | २०८२ पौष १७, बिहिबार
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला लगायत व्यक्तिका लागि विशेष हेरचाह र रेखदेखको लागि काठमाडौँ महानगरपालिकाले ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको छ ।
कामपाले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा एउटा नमूना हेरचाह सेवा केन्द्र संचालन गर्ने योजना बनाएको हो ।
केन्द्रका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नयाँ काम गर्दा यसका प्रभाव मूल्याङ्कन गर्दै जानुपर्ने र प्रारम्भ गरिएका केन्द्रहरुको प्रभावकारिताका आधारमा सेवा थप गर्ने वा नगर्ने निर्णय गर्न हुने बताइन् ।
उपप्रमुख डंगोलले यूएन वुमनका प्रतिनिधिहरुसँग हेरचाह सेवाका विषयमा कुराकानी गर्दै यस्तो जानकारी दिएकीे हुन् ।
‘विश्वमा तीव्र सहरीकरण हुँदै गएसँगै परिवारको साथ आवश्यक पर्ने समयमा व्यक्तिहरु एक्लै बन्न थालेका छन् । यस्तो अवस्थामा सम्भावित सामाजिक समस्या बढ्न नदिन हेरचाह र रेखदेखसँग सम्बन्धित सेवाको आवश्यकता बढ्दै गएको छ’ डंगोलले भनिन् ।
हेरचाह र रेखदेखसँग सम्बन्धित कामसँग महिलाहरुको अवस्था र समस्या जोडिने भएकोले यो सेवासँग महिला अधिकार, सशक्तिकरण, दक्षता अभिवृद्धि, रोजगार र आयआर्जनसँग पनि जोडिने डंगोलले बताइन् ।
छलफलमा सहरीकरणले सिर्जना गरेको अवस्थासँगै विद्यमान लैङ्गिक समता र समानताको अवस्था, सोच र यसको रुपान्तरणका सवाल पनि उठाइएका थिए ।
हेरचाह र रेखदेखमा निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमीदेखि केयर सिस्टमसम्मको चक्रमा केयर इन्टरप्रेनरसिप नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा अगाडि बढाउन सकिने सम्भावना छलफलमा उठेको थियो ।
Categorized in स्थानीय




