arin enterprises

माघे संक्रान्ति मनाईँदै

SamacharDesk – बिराज | २०८२ माघ १, बिहिबार

आज माघ १ गते । आज नेपाली समाजको लागि विशेष दिन हो । नेपाली समाजको विभिन्न जातीय समुदायले आआफ्नो परम्परा अनुसार पर्व मनाइरहेका छन् ।

आजको दिनलाई माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति, माघी, घ्यःचाकु संल्हू विभिन्न नामले आआफ्नो कुल परम्परा अनुसार पर्व मनाइन्छ ।

माघ महिनाको पहिलो दिन, ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । त्यसैले आजको दिनलाई ’मकर सङ्क्रान्ति’ पनि भनिन्छ ।

आजकै दिनबाट सूर्य दक्षिणी गोलार्ध्दबाट उत्तरी गोलार्द्धमा प्रवेश गर्छ अर्थात, दक्षिणायणबाट उत्तरायणमा प्रवेश गर्छ । त्यसैले आजबाट दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

यस पर्वमा नेपालभरी साथै हिन्दु धर्मावलम्बीहरु विभिन्न नदी अथथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजा गर्न जाने गर्छन् । साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाने गरिन्छ ।

आजको दिन देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटहरूमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ ।

यस दिनमा आफ्नो पुरोहितलाई घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरिन्छ । उक्त सामग्रीहरुको दान आदि गर्नाले र आफूले पनि खाएमा शरीर निरोगी हुने उल्लेख विभिन्न धार्मिक शास्त्रहरुमा गरिएको छ ।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिको यहि दिनमा भीष्मले यही दिन मृत्यु रोजेको महाभारतमा उल्लेख गरिएको छ । साथै भगिरथले यही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएको धार्मिक विश्वास गरिन्छ ।

विभिन्न समुदायको विभिन्न परम्परा

यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या/सेल्र्हेस पनि भनिन्छ ।

नेवार समुदायमा आजको दिनलाई घ्यःचाकु संल्हूको रुपमा मनाइन्छ । घ्यू र चाकुको साथै तरुल आदि खानुका साथै आजको दिन दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै आमाले आफ्ना सन्तानलाई तेल लगाइदिने गरिन्छ ।

यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ ।

माघे सङ्क्रान्तिका दिन इलाम जिल्लाको माइबेनीमा मेला लाग्छ । यसैगरी झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् ।

सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । यस पर्वलाई तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् ।

नुवाकोटको तारूका गाविस वडा नं. ५ चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ । दैलेख लगायत पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा चेलित्यार भनी मनाइन्छ । माघे सङ्क्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लाग्छ ।

देवघाटमा हरेक वर्ष मकर सङ्क्रान्ति मेला लाग्ने गर्दछ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ ।

थारूहरू माघी मनाउने गर्छन् । माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा ’निसराउ’ भनिन्छ ।

त्यस्तै दाङ–देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन् । माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ ।

नेपालका मगर जातिहरू बीच माघे सङ्क्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सककग मनाउने चलन छ ।

Categorized in संस्कृति