इन्धनको समस्या न्यूनीकरणका लागि कामपा कार्यालयमा कार पुलिङ
SamacharDesk – बिराज | २०८२ चैत्र २९, आइतबार
इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको बताइन् ।
‘यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यान्वयनमा ल्याएका हौँ’ डंगोलको भनाइ छ ।
महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।
‘कार पुलिङ्’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ ।
यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्नेछ ।
Categorized in स्थानीय




