सुकुम्बासी हटाउने निर्णय नसच्याए आन्दोलनमा उत्रिने चेतावनी
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ बैशाख ११, शुक्रबार
नेपाल जनता संरक्षण पार्टीले विभिन्न भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई हटाउने निर्णय नसच्याए सशक्त आन्दोलनमा उत्रिने बताएको छ ।
पार्टीले विज्ञप्ती जारी गर्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई हटाउने निर्णय सच्याएर न्यायपूर्ण समाधान नखोजेमा पिडित जनताको साथमा रहेर सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने बताएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष हुकुम बहादुर लामाबाट जारी विज्ञप्तीमा योजना र विकल्पको व्यवस्था नै नगरी हटाउने कार्य अमानवीय हुने र यसले बालबालिका, बृद्धा र कमजोर वर्गमा झनै समस्या पार्न सक्ने भनिएको छ ।
पार्टीले विज्ञप्तीमार्फत नेपालको संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक र भूमिहिन दलितलाई जमिन उपलब्ध गराउने मौलिक हकको ग्यारेन्टी गरेको स्मरण गराएको छ ।
‘तर सरकारले नागरिकका यी आधारभूत अधिकारलाई कुल्चदै मानवीय संवेदना र सामाजिक न्यायको समेत ख्याल नगरी बल प्रयोग गरेर सुकुमवासी बस्ती उठाउन खोज्नु अत्यन्तै अलोकतान्त्रिक र खेदजनक कार्य हो भन्ने हामीलाई लागेको छ’ विज्ञप्तीमा लेखिएको छ ।





