कामपामा छात्रवृत्तिका लागि २६ हजार भन्दा माथि आवेदन
SamacharDesk – बिराज | २०८३ जेठ १२, मंगलबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार बढि विद्यार्थीले आवेदन दिएका छन् ।
२६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएकोमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।
३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोवाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको खड्काले बताए । उनीहरुले आज दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः पेश गर्नु पर्ने बताइएको छ ।
अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको हो ।
खड्काका अनुसार विद्यार्थीहरुको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ ।
जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ ।
आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते विहान १० बजेपछि फाराम भरेकै साइटबाट प्रवेश पत्र डाउनलोड गरी कलर प्रिन्ट गर्न सकिने र परीक्षा केन्द्र तथा परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिने परिक्षा समितिले जनाएको छ ।
आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भरेका छन् । विज्ञान विषयमा फारम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ । व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना छन् ।
कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ । परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ ।
यसपछि म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ । नाम शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११–१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।
Categorized in स्थानीय




