arin enterprises

चेतन कार्की स्मृति पुरस्कार संचारकर्मी भट्टराई र नायक सिग्देललाई

SamacharDesk – विजयरत्न | २०८३ आषाढ २४, बुधबार

विशिष्ट चलचित्रकर्मी चेतन कार्कीको नाममा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार यसपटक संचारकर्मी कृष्ण भट्टराईलाई दिइने भएको छ ।

परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।

वैठकले चलचित्र क्षेत्रको विकास विस्तार र पेशाकर्मीको उत्थानका लागि विगत अढाई दशक भन्दा बढी समय देखि पत्रकारीतामा संलग्न रहि योगदान पुर्याए वापत संचारकर्मी भट्टराईलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

यो पुरस्कार २०७९ सालमा स्थापना गरिएको हो ।

सोही वैठकले कलाकार शारदा गिरी र निर्देशक, कलाकार विश्वदिप घिमिरेलाई २०८२ सालको दुर्गादेवी– पुण्य निरौला स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

विगत चार दशकदेखि नेपाली चलचित्र टेलि चलचित्रमा अभिनय गर्दै आएकी कलाकार गिरी र विगत अढाई दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च चलचित्र र टेलिचलचित्रमा निर्देशन तथा अभिनय गर्दै आएका घिमिरेलाई उक्त पुरस्कार दिने निर्णय भएको हो ।

यो पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो । दुवै पुरस्कारको राशी जनही रु.१५ हजार रुपैयाँ रहेको छ ।

आफ्नो कला यात्राको प्रारम्भिक दिनमा परिवर्तन नेपालसंग आवद्ध रहेका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान अर्पण गर्ने निर्णय पनि सोही बैठकले गरेको छ ।

यसैगरी चलचित्रमा छाँयाकारको रुपमा प्राविधिकहरुको पेशागत हकहितका लागि योगदान पुर्याउँदै आएका छांयाकार वीरेन्द्र प्रसाद भट्ट र गीत संगीत क्षेत्रमा पत्रकारीता र गीत संगीत उत्थानका लागि अवार्डको आयोजना गरी काम गर्दै आएकी सविता पोखरेललाई परिवर्तन विशेष सम्मान गर्ने निर्णय गरेको छ ।

यी पुरस्कारहरु श्रावणको तेस्रो साता विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

बैठकमा पुरस्कार छनोट समितिका सदस्य शान्ति प्रिय, सुन्दर श्रेष्ठ र परिवर्तनकर्मी माधव खरेलको उपस्थिती रहेको थियो ।

परिवर्तन नेपालले आफ्नो स्थापनाकाल वि.सं. २०५३ साल देखि विभिन्न स्रष्टा, सर्जक र परिवर्तन नेपालसँग आवद्ध चलचित्रकर्मीलाई परिवर्तन विशेष सम्मान प्रदान गर्दै आएको छ ।

Categorized in पेजथ्री