जेन–जी आन्दोलनको परिवेश समेटिएको ‘चंगुल’ भदौमा आउने
SamacharDesk – विजयरत्न | २०८३ आषाढ २४, बुधबार
जेन–जी आन्दोलन र त्यस अघि पछिको सामाजिक–राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘चंगुल’ आउँदो भदौ १९ कृष्ण जन्माष्टमीदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
निर्माता मालती कार्कीका अनुसार गतवर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन तथा आन्दोलनका क्रममा ज्यान गुमाएका सहभागीहरूको स्मृतिलाई सम्मान गर्दै यो चलचित्र भदौ १९ गते प्रदर्शनमा ल्याउन लागिएको हो ।
राम गौतमको निर्देशनमा बनेको चलचित्रले भ्रष्टाचारले थिलथिलो बनेको देश, त्यसबाट उत्पन्न सामाजिक अवस्था र त्यसविरुद्ध देखिएको युवा जागरणलाई पर्दामा उतारेको निर्माण पक्षको दावी छ ।
चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा बीसी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय छ । बाल कलाकारका रूपमा रिम्शा कार्कीले अभिनय गरेकी छिन् ।
चलचित्रका गीतमा विपिन आचार्य र नन्दनी अधिकारीको संगीत छ । देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने दीपेन्द्र बस्न्यातले चलचित्रको छायांकन र दृश्य सम्पादन गरेका छन् ।
Categorized in पेजथ्री




