arin enterprises

रक्तदान गर्दै विश्व रक्तदाता दिवस मनाइयो

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ३२, आइतबार

आज जुन १४, विश्वभरी विभिन्न किसिमले विश्व रक्तदाता दिवस मनाइएको छ । 

नेपालमा पनि यहि दिवसको अवसरमा रक्तदान लगायत विविध कार्यक्रमहरु भएका छन् ।

नेपालमा लकडाउन अवधिमा विभिन्न दिवसका औपचारिक कार्यक्रमहरु प्रभावित भए । तर विश्व रक्तदाता दिवसको अवसरमा भने विभिन्न कार्यक्रमहरु आयोजना भए । 

किनभने यो जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने दिवस थियो । महामारीको समयमा यो दिवसको महत्व झन बढि नै रहेको थियो ।

हिजो राती कोरोना संक्रमणका कारण मृत्यु हुने गुल्मीका कोरोना संक्रमित पुरुषमा केही दिन अघि रक्त अल्पताको समस्या देखिँदा उपचारमा संलग्न चिकित्सकले नै उनलाई रक्तदान गरेको यहाँनेर उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।

साथै कोरोना संक्रमण मुक्त भएका व्यक्तिको रगतबाट अर्को संक्रमित व्यक्तिलाई गरिने प्लाज्मा थेरापीले पनि यो समयमा रक्तदानको महत्वलाई अझ बढि दर्शाएको छ ।

कोरोना महामारीको अवस्थामा दैनिक संक्रमितको सख्या बढ्दो क्रममा छ साथै पछिल्लो समय मृतकको संख्या पनि थपिँदै गएको छ ।

यस्तो अवस्थामा अस्पताल वा स्वास्थ्य केन्द्रहरुमा रगतको माग बढ्ने सम्भावना एकातिर छ भने वर्तमान परिवेशमा रगतको अभाव हुने सम्भावना पनि ठुलो छ ।

लकडाउन खुकुलो भइसक्दा पनि जनजीवन सामान्य बन्न सकेको छैन । मानिसहरु घर बाहिर सडकमा हिँड्न डराइरहेको अवस्था छ ।

बजार खुले पनि व्यवसायीहरुको दिन ग्राहकलाई कुर्दै नै वित्ने गरेको छ ।

यस्तो अवस्थामा रक्तदाताहरु घरघरमै थुनिँदा आवश्यक समयमा रगतको अभाव हुने सम्भावना बढाएको छ ।

यस्तै परिस्थितीलाई मध्यनजर गर्दै पछिल्लो समयमा विभिन्न स्थानमा रक्तदान कार्यक्रमहरुको आयोजना निरन्तर हुने गरेको छ ।

साथमा यहि समयमा ‘एक घर एक रक्तदाता’ अभियानलाई समेत तीव्रता दिइएको छ ।

यहि अभियानमा जुटेका समाजसेवी साथै नेपाल रेडक्रश सोसाईटी, काठमाडौं जिल्ला शाखा, महावौद्ध उपशाखाका सचिव प्रकाश अमात्यले संक्रमणको जोखिम साथै समाजसेवाको नाममा हुने तामझाम न्यूनीकरणको लागि ‘एक घर एक रक्तदाता’ अभियानलाई निरन्तरता दिएको बताए ।

‘रक्तदानको नाममा प्रायः यस्ता कार्यक्रममा फजुल खर्च हुन्छ । रक्तदान सेवाको काम हो । आवश्यक परेका मानिसको ज्यान बचाउन हो, न कि देखावटीका लागि’ अमात्यले भने ।

यस वर्ष दिवसको नारा ‘जीवन बचाउँ, रक्तदान गरौं’ रहेको छ ।

विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

Categorized in समाज