एनसीएफटीको ‘अनन्तरूपवितानम्’: नेपाली सम्पदादेखि भविष्यवादी फेसनसम्मको सिर्जनात्मक यात्रा
SamacharDesk – बिराज | २०८३ आश्विन २८, बुधबार
नेपाली पुर्ख्यौली शिल्प, सांस्कृतिक विविधता, आध्यात्मिक चेतना र भविष्यवादी कल्पनालाई समकालीन फेसनसँग जोड्दै नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी) ले २१औँ स्नातक फेसन शो ‘अनन्तरूपवितानम्’ प्रस्तुत गरेको छ ।
ललितपुरमा सम्पन्न यस प्रस्तुतिले नेपाली सम्पदालाई विगतको स्मृतिमा सीमित नराखी आधुनिक डिजाइन, दिगोपन र प्रविधिको माध्यमबाट पुनव्र्याख्या गर्ने प्रयास गरेको आयोजकले दावी गरेको छ ।
५४ स्नातक डिजाइनरका सिर्जना, छ वटा फेसन संग्र्रह र छ वटा सिर्जनात्मक उत्कृष्ट कृतिसहित आयोजित कार्यक्रमले शैक्षिक उपलब्धिलाई व्यावसायिक फेसन अभ्याससँग जोडेको थियो ।
‘अनन्तरूपवितानम्’ले मन्दिरका स्थापत्य, पौभाः कला, परम्परागत आभूषण, कृषि संस्कृति, हिमाली जीवनशैली, देवीशक्ति र कृत्रिम बुद्धिमत्ताबाट प्रेरित भविष्यवादी परिकल्पनासम्मका विषयलाई विविध आयाममा प्रस्तुत गरेको थियो ।
अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफीले रनवे प्रस्तुतिलाई सुसङ्गत गति, लय र नाटकीयता प्रदान गरेको थियो । कार्यक्रमको समन्वय श्रीतिका शाक्य, सुबिना राउत, अलिश रञ्जित र स्वस्तिका भारीले गरेका थिए ।
१. ‘फोर्ज्ड बाइ हेरिटेज’— पुख्र्यौली शिल्पमा आधुनिक वैभव
पौभाः कला, नेपाली मन्दिरका काष्ठकला, परम्परागत बुनाइ, पित्तलको शिल्प र पवित्र स्थापत्यबाट प्रेरित यस संग्रहले ऐतिहासिक कलालाई समकालीन कुट्युरमा रूपान्तरण गरेको थियो ।
सिन्दूरी रातो, कालो र सुनौलो रङ, वास्तुशिल्पीय बोडिस र नक्काशीप्रेरित संरचनाले पहिरनमा राजसी सौन्दर्य थपेका थिए ।
नैन्सी श्रेष्ठ, एन्जेला चौधरी, सुष्मा अधिकारी, राधा श्रेष्ठ, आदित्य थापालिया, प्रतिभा कँडेल, कुसुम परियार र रुसाना ल्वागुनले संयुक्त रूपमा तयार पारेको यस संग्रहले सम्पदालाई जीवित सिर्जनात्मक प्रेरणाका रूपमा प्रस्तुत गर्याे ।
२. ‘टेरा सूत्रः थ्रेड्स अफ रिजेनेरेसन’— कृषिबाट दिगो कुट्युरसम्म
धान, गहुँ, मकै, चिया, कोदो, सिँढीदार खेत र परम्परागत कृषि औजारबाट प्रेरित यस संग्रहले प्रकृति, ग्रामीण जीवन र वातावरणीय उत्तरदायित्वलाई फेसनसँग जोड्यो ।
मोड्युलर सिल्हुट, बहुउपयोगी पहिरन र सामग्रीको विवेकपूर्ण प्रयोग यसको विशेषता थियो ।
ईशा के.सी., वर्षा शाही, स्वस्तिका भारी, दीपिका चौधरी, रोजाना शाक्य, अस्मिता आङ्बाङ, यमुना गुरुङ, सुहाङ्मा लिम्बू र सजिना खत्रीको सिर्जनाले कृषिलाई जीविकोपार्जनको आधार मात्र नभई संस्कृति र दिगो डिजाइनको स्रोतका रूपमा व्याख्या गर्यो ।
३. ‘नेपालीज गिल्टेड स्पाइन’— आभूषणमा सांस्कृतिक पहिचान
मगर, तामाङ, नेवार, मधेसी, शेर्पा, ब्राह्मण, थारू, गुरुङ र राई समुदायका परम्परागत गहनाबाट प्रेरित यस संग्रहले आभूषणलाई पुर्खाको स्मृति, सामुदायिक सम्बन्ध र सांस्कृतिक अपनत्वको प्रतीकका रूपमा प्रस्तुत गर्यो ।
मेरुदण्डलाई शक्ति र निरन्तरताको रूपक बनाउँदै आधुनिक सिल्हुट, ढाका कपडा र जीवन्त रङमार्फत परम्परागत अलङ्कारलाई नयाँ स्वरूप दिइएको थियो ।
अर्चना चौधरी, गरिमा कुमारी कठरिया, अभिशा महर्जन, श्रीतिका शाक्य, आराधना गुप्ता, रेशु खत्री, सुबिना राउत, इसोदा नागरकोटी र कुसुम वाग्ले यस संग्रहका डिजाइनर थिए ।
४. ‘द सेप अफ रिटर्निङ’— हिमाली जीवन र प्रकृतिको लय
हिमाली गोठालाहरूको मौसमी यात्राबाट प्रेरित यस संग्रहले मानिस, पशु, भूगोल र घरबीचको सम्बन्धलाई उजागर गर्यो ।
परम्परागत ऊन, वेट फेल्टिङ, निडल फेल्टिङ र प्रयोगात्मक कपडा प्रशोधन प्रविधिबाट निर्मित मूर्तिकलात्मक सिल्हुटले हिमाली जीवनको अनुकूलन क्षमता र प्रकृतिसँगको सहअस्तित्वलाई अभिव्यक्त गरे ।
निशा गिरी, प्रतिमा बराइली, प्रवेशिका थाम्सुहाङ, निश्चल थापा, पेमा शेर्पा, ज्योति गुरुङ, हाङ्दिमा हाङ्मा राई, प्रिनिता पुन मगर र रस्ना भुजुको सिर्जनाले परम्परागत ज्ञानलाई समकालीन डिजाइनसँग जोडे ।
५. ‘अभय–शक्तिः निर्भयताको सामथ्र्य’— देवीत्त्व र नारीशक्तिको उत्सव
नवदुर्गा र देवी लक्ष्मीबाट प्रेरित यस संग्रहले साहस, संरक्षण, समृद्धि र सौन्दर्यलाई समकालीन फेसनमा रूपान्तरण गर्यो ।
योद्धाको कवचप्रेरित संरचना, मूर्तिकलात्मक अवयव, विलासी सामग्री र प्रवाहमय सिल्हुटले शक्ति र कोमलताको सन्तुलन प्रस्तुत गरेका थिए ।
यी सिर्जनाहरु रिया भण्डारी, ग्रेस राजलक्ष्मी बराल, श्रेया तिम्सिना, राजीव अधिकारी, कुमारी माया सारु मगर, सिमरन फाञ्जु, प्रणिता थापा मगर, अलिश रञ्जित, पूजा भण्डारी र कविता शाहले तयार पारेका थिए ।
यी सिर्जनाले नारीशक्तिलाई आत्मविश्वास, रूपान्तरण र सिर्जनात्मक नेतृत्वको प्रतीकका रूपमा स्थापित गरे ।
६. ‘कल्पसूत्र’— नेपाली सम्पदादेखि कृत्रिम बुद्धिमत्तासम्म
अन्तिम संग्रहले नेपाली सांस्कृतिक जरा, हिमाली पहिचान, आध्यात्मिक प्रतीक र कृत्रिम बुद्धिमत्ताबाट प्रेरित भविष्यवादी कुट्युरलाई एउटै सिर्जनात्मक यात्रामा जोड्यो ।
प्रयोगात्मक सिल्हुट र नवीन संरचनामार्फत परम्परा र प्रविधिबीचको सम्भावित सम्बन्धलाई दृश्यात्मक रूप दिइएको थियो ।
यस संग्रहलाई परिशा बराम, निरजला वाइबा, आदित्य कौशल, ब्रिशा गुरुङ, सुरज भट्ट, ग्रिष्मा कार्की, दीक्षा श्रेष्ठ, रितिका मुश्यान र बन्दना सिंहले विकसित गरेका थिए ।
यस संग्रहले सम्पदालाई प्रत्येक पुस्ताले नयाँ अर्थ र सम्भावना थप्दै अघि बढाउने जीवन्त सिर्जनात्मक शक्तिका रूपमा व्याख्या गर्यो ।
प्रतिष्ठित निर्णायक मण्डल
विद्यार्थीका सिर्जनाको मूल्याङ्कन प्राविधिक शिक्षा, फेसन डिजाइन, वस्त्र प्रविधि, शैक्षिक नेतृत्व र तयारी पोसाक उद्योगका अनुभवी व्यक्तित्वहरूले गरेका थिए ।
निर्णायक मण्डलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पूर्व उपाध्यक्ष कुलबहादुर बस्नेत, नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (निफ्ट), पटनाका निर्देशक कर्नेल राहुल शर्मा र गार्मेन्ट एसोसिएसन–नेपाल (जीएएन) का अध्यक्ष पशुपति देव पाण्डे थिए ।
पद्मकन्या क्याम्पसकी प्रमुख प्रा. डा. जया प्रधान, फेसन शिक्षाविद् तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह, साखा ग्रुपका अध्यक्ष किरण प्रकाश साखा, कार्यक्रम आयोजक तथा सामाजिक एवं सांस्कृतिक अभियन्ता हेमा मानन्धर र बङ्गलादेशका वस्त्र प्रविधि विशेषज्ञ तथा उद्योग कार्यकारी डा. मोहम्मद कमरुज्जमान (डा. कमरुल) पनि निर्णायक मण्डलमा सहभागी थिए ।
एनसीएफटी फेसन क्याटलगको पाँचौँ संस्करण विमोचन
कार्यक्रममा एनसीएफटी फेसन क्याटलगको पाँचौँ संस्करण विमोचन गरिएको थियो ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यञ्जनकार, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजन बाबु मरहट्टा, रजिस्ट्रार प्रा. डा. पन्ना थापा, व्यवस्थापन सङ्कायका डिन प्रा. डा. उत्तमकुमार रेग्मी, परीक्षा नियन्त्रक प्रा. बलेन्दु हमाल, एनसीएफटीकी संस्थापक प्राचार्य ज्ञानी शोभा तुलाधर र उपप्राचार्य जीवेश्वरलाल श्रेष्ठले संयुक्त रूपमा क्याटलग विमोचन गरेका थिए ।
क्याटलगले डिजाइनरका सिर्जना, अनुसन्धान, अवधारणा, सामग्री छनोट र प्राविधिक प्रक्रियालाई अभिलेखित गर्दै रनवेमा प्रस्तुत पहिरनलाई दीर्घकालीन पोर्टफोलियोका रूपमा सुरक्षित गरेको छ ।
व्यक्तित्व अनुसारको पहिरनमा विद्यार्थीको सिर्जनात्मकता विद्यार्थीको व्यावहारिक दक्षता मुख्य संग्रहमै सीमित रहेन । संस्थापक प्राचार्य ज्ञानी शोभा तुलाधरले रोजाना शाक्य र यमुना गुरुङले डिजाइन गरेको पहिरन धारण गरेकी थिइन् ।
कोरियोग्राफर रोजिन शाक्यले सुहाङ्मा लिम्बू, सुबिना राउत र रेशु खत्री क्षेत्रीको डिजाइन लगाएका थिए भने महिला उद्घोषिका रुबिश्का श्रेष्ठका लागि दीक्षा श्रेष्ठ र यमुना गुरुङले पहिरन तयार पारेका थिए ।
यी सिर्जनाले व्यक्तिगत शैली, स्टाइलिङ र व्यक्तित्वअनुकूल वार्डरोब डिजाइनमा विद्यार्थीको सीप प्रदर्शन गरे ।
Categorized in पेजथ्री




