थिमिको पर्यटन प्रवर्ध्दनका लागि नयाँ योजनाहरु ल्याइयो
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक २१, शुक्रबार
मध्यपुर पर्यटन बोर्डले थिमिको कला, संस्कृति र ऐतिहासिक सम्पदालाई पर्यटन प्रवर्ध्दनसङ्ग जोड्ने नयाँ योजनाहरु अघि सारेको छ ।
मध्यपुर थिमी नगरपालिकाद्वारा गठित मध्यपुर पर्यटन बोर्डको पहिलो बैठकले मध्यपुर थिमिको कला, संस्कृति र ऐतिहासिक सम्पदा संरक्षणका साथै पर्यटन प्रवर्ध्दन गर्दै व्यापारिक केन्द्रको रूपमा विकास गर्ने योजना ल्याएको हो ।
मध्यपुर थिमीलाई समृद्ध र आकर्षक पर्यटकिय गन्तव्य बनाउने उद्देश्यले गठित बोर्डको कार्यालय, पर्यटन सूचना केन्द्र स्थापना गर्ने, वेबपेज र ब्रोसर बनाउने योजना रहेको कार्यसमिति सदस्य रमेश प्रजापतिले जानकारी दिए ।
त्यस्तै बोर्डले दीर्घकालीन कार्ययोजना अन्तर्गत थिमीमा कला संग्रहालय, हरिटेज लाईभ म्युजियम, होटल निर्माणमा सहजीकरण, बर्ड वाचिङ सेन्टर, सेरामिक प्रमोटिङ, परम्परागत भाँडा बनाउने पेशा पुनःजिवन्त गर्ने, युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने प्रजापतिले बताए ।
यसअघि नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा गठित मध्यपुर पर्यटन बोर्डमा १५ जनाको कार्यसमिति रहेको छ ।
बोर्डको उपाध्यक्षमा नगर उप प्रमुख विजयकृष्ण श्रेष्ठ, सदस्यमा वडा नम्बर ३ का वडाअध्यक्ष कृष्णहरि आचार्य, वडा ४ र ७ का नगर समिती सदस्य मदन श्रेष्ठ र शर्मिला बिश्वकर्मा, पर्यटन ब्यबसायीतर्फ रमेश प्रजापति र श्यामसुन्दर श्रेष्ठ रहेका छन् ।
भाषा, इतिहास, बुद्धिजीबीतर्फ श्याम मानन्धर, रामकृष्ण दुवाल र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । बोर्डको सदस्य सचिव नियुक्त गर्न भने बाँकि रहेको सदस्य प्रजापतिले जानकारी दिए ।
Categorized in बिजनेस




