भारतसँग हवाई सहकार्य विस्तारको पहल
SamacharDesk – बिराज | २०८३ मङ्सिर ५, शुक्रबार
नयाँ दिल्ली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पर्यटन बोर्ड र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवद्र्धन कार्यक्रममा मन्त्री पौडेलले यस्तो जोड दिएका हुन् ।
मन्त्री पौडेलले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशको कूटनीतिक सम्बन्धमा सीमित नभई नेपालीको साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको विचार राखे ।
‘पर्यटनले यस सम्बन्धलाई अझ गहिरो बनाउने र दुवै देशका नागरिकबीचको सम्पर्क तथा आर्थिक अवसर विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ ।’ मन्त्री पौडेलले भने ।
पर्यटन प्रवर्ध्दनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा पौडेलले जोड दिए ।
कार्यक्रमका अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्तासमेत गरेका छन् ।
भेटमा नेपाल–भारतबीचको हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको बताइएको छ ।
कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्त्व उजागर गरे ।
उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले पनि नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले सहभागीहरूलाई स्वागत गरेका थिए ।
भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिहरूले समेत ‘नेपाल कलिङ’ अभियानप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेका थिए ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अभियानमार्फत भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि पुनः आमन्त्रण गर्दै नेपाल सुरक्षित, खुला, संकटसँग जुधेर अघि बढिरहेको र पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको बताए ।
कार्यक्रममा भारतीय टुर अपरेटर संघ (आईएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले निजी क्षेत्रबीच सहकार्य र नयाँ पर्यटन अवसर सिर्जना गर्ने सम्भावनालाई थप बल पुर्याएको छ ।
Categorized in बिजनेस





