‘लकडाउन खुकुलो भएसँगै संक्रमित बढि देखिन थाल्यो’–डा. सेन्चुरी
SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ १४, आइतबार

बीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले लकडाउन खुकुलो भएसँगै अस्पतालमा कोरोना पोजेटिभ केसहरु बढ्न थालेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै निर्देशक डा. सेच्नुरीले विगतमा पोजिटिभ केसहरु कमै आउने गरेकोमा अहिले लकडाउन खुकुलो भएसँगै बढ्न थालेको जानकारी दिए ।
नेपालकै जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालमा नेपालका विभिन्न स्थानको साथमा भारतबाट समेत विरामीहरु आउने गरेको बताउँदै डा. सेन्चुरीले विना परिक्षण विरामीमा संक्रमण भए वा नभएको थाहा नहुने हुँदा पिपिई लगाई पिसिआर टेस्ट गराइ आइसोलेसनमा राख्ने गरेको बताए ।
दिनहुँ प्रयोग गरिरहनुपर्ने पिपिई लगायतका स्वास्थ्य सामग्रीहरू सजिलै बजारमा नपाइने र विभागसँगै समन्वय गरी मगाउनुपर्ने भएकोले अहिले अस्पतालमा पिपिइ र पिसिआर किटहरूको अभाव हुन थालेको पनि डा. सेन्चुरीले बताए ।
आवश्यक सामग्रीहरू उपलब्ध गराएसँगै कोभिड प्रयोगशाला विस्तार गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो । हाल यसको लागि भौतिक पूर्वाधार, जनशक्ति, पिसिआर टेस्ट मेसिन आदिको व्यवस्थापन भइरहेको डा. सेच्नुरीले जानकारी दिए ।
सोही प्रेस व्रिफिङमा डा. सेन्चुरीले लकडाउन खुकुलो भएसँगै अस्पतालमा भर्ना हुनेहरूको चाप पनि पुनः बढिरहेको प्रष्ट पारे ।
‘इमरजेन्सीमा विरामीहरु दैनिक ५० देखि ६० जना प्रतिदिन आइराख्नुभएको छ भने ओपिडीमा करीब ४ सय देखि ५ सयको हाराहारीमा विरामीहरु आइराख्नुभएको छ,’ निर्देशक डा. सेन्चुरीले भने । ‘हेमोडायलाइसिसको लागि प्रतिदिन हामीले करिब एक सय १४ जनालाई सेवा दिइराखेका छौं ।’
डा. सेन्चुरीका अनुसार हाल अस्पतालले अहिलेसम्म ५ हजार ५ सय ३२ जनाले ईमर्जेन्सी, २६ हजार ३ सय ३० जनाले ओपिडी र ३ सय ६५ जनाले फिभर क्लिनिकमा सेवा लिएका छन् ।
जसमध्ये संक्रमित २ सय १ जनालाई आईसोलेसनमा राखिएको पनि उनले बताए ।
नन कोभिड अस्पतालको रुपमा रहेको वीर अस्पतालको प्रयोगशालामा हालसम्म करिब ३ हजार पिसिआर टेस्टहरू भइसकेका छन् । जसमध्ये २१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोभिड १९ रोगको हालसम्म औषधि पत्ता नलागेको अवस्थामा यसबाट बच्नका लागि सकेसम्मको सावधानी अपनाउन उनले सुझाए ।
‘यसबाट बच्ने उपायमा मुख्य जोड दिनुपर्ने हुन्छ । खास गरेर सरसफाइ, स्यानिटाइजेसन, ह्यान्ड वासिङ, डिस्ट्यान्सिङका कुराहरु, सक्दो बाहिर ननिस्कने, निस्कनै परेमा मास्कको प्रयोग गर्ने, सुरक्षित भएर हिँड्ने । आधारभूत कुराहरु यिनै हुन्’ डा. सेन्चुरीको भनाई हो ।
कसैलाई यो संक्रमण लागिहालेमा नआत्तिई स्वास्थ्यकर्मीको सम्पर्कमा रही स्वास्थ्य मन्त्रालयद्वारा जारी प्रोटोकलमा अडिग रहेमा यसबाट जित्न सकिने पनि उनको भनाई हो ।
Categorized in समाज