arin enterprises

निको हुनेको दर २४ प्रतिशत नजिक

SamacharDesk – विकाश | २०७७ आषाढ १५, सोमबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको दर २४ प्रतिशतको नजिक पुगेको छ । संक्रमितको संख्या दैनिक व्हात्तै बढ्दै गइरहेको अवस्थामा निको हुनेको दर भने विस्तारै उकालो चढ्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कुल संक्रमितमध्ये २३.६५ प्रतिशत निको भएका छन् ।

हालसम्म १३ हजार २ सय ४८ संक्रमितमध्ये ३ हजार एक सय ३४ जना निको भएर घर फर्केका छन् । तीमध्ये २ सय ६८ महिला र २ हजार ८ सय ६६ जना पुरुष रहेका छन् ।

पछिल्लो पटक विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट १३ महिला र एक सय ८ पुरुष गरी एक सय २१ जना निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक संक्रमणमुक्त हुनेहरु मध्ये नारायणी अस्पताल वीरगंजबाट पर्सा जिल्लाका ३ महिला र २० पुरुषको साथमा स्याङ्जा अस्पताल स्याङ्जाबाट ४ महिला र २९ पुरुष रहेका छन् ।

त्यसैगरी अल्पामाई नरसिंह इन्स्टिच्यूट सर्लाहीबाट १३ पुरुष, कोभिड १९ अस्पताल सपही धनुषाबाट धनुषा जिल्लाका ३ पुरुष, महेन्द्र गेनाई अस्पताल सिराहाबाट १ महिला र १३ पुरुष पनि निको भई डिस्चार्ज भएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीबाट एक महिला र एक पुरुष, म्याग्दी अस्पताल म्याग्दीबाट ३ पुरुष, पर्वत अस्पताल पर्वतबाट २ महिला र ६ पुरुष, तनहुँ अस्पताल तनहुँबाट ५ पुरुष पनि कोरोना भाईरसलाई जितेर घर फर्केका छन् ।

साथमा नुवाकोट अस्पताल नुवाकोटबाट २ महिला र ६ पुरुष, सुशील कोईराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट २ पुरुष। आदर्श नगर आइसोलेसन सेन्टर बाँकेबाट ३ पुरुष, आइसोलेसन सेन्टर खजुरा बाँकेबाट ३ पुरुष र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापा एक पुरुष पनि डिस्चार्ज भए ।

Categorized in समाज