arin enterprises

ललितपुरमा नृसिंह जात्रा सम्पन्न

SamacharDesk – बिराज | २०७८ भाद्र ११, शुक्रबार

ललितपुरमा नृसिंह जात्रा (उपाकलं सायाः) आज सम्पन्न भएको छ ।

ललितपुरका राजोपाध्याय अथवा देव ब्राम्हणहरुको उपाकर्म गुठीबाट हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन गरिँदै आएको जात्रा आज सम्पन्न भएको हो ।

जात्राको पालोवालाकै घरबाट जात्रा शुरु गर्ने परम्परा अनुसार यस वर्षका जात्राको पालोवाला कोमलेशानन्द राजोपाध्याय (कोमल जुजु) को गाःबहालस्थित घरबाट जात्रा शुरु गरिएको थियो ।

ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरुको उपाकर्म गुठीका सदस्यहरुमा ज्येष्ठताको आधारमा जात्रा चलाउने पालो दिइन्छ ।

‘यो जात्राको पालो भनेको भाग्यले नै पाउने हो, मेरो भाग्यमा रहेछ, मैले जात्रा चलाउन पाएँ । निकै खुसी लागिरहेको छ’ पालोवाला कोमल जुजुले बताए ।

अगाडी प्रल्हाद, दायाँ बायाँ सरस्वती र लक्ष्मीसँगै निस्किने नृसिंहले लतिलपुरको सायाः रुटलाई परिक्रमा गर्ने गर्दछ ।

गाःबहालबाट निस्केको नृसिंह प्यंगःथां हुँदै पिम्बहाल, नकबहिल, क्वालखु, झटापोल, बगलामुखी, क्वबहाल, स्वथ, मंगलबजार, हौगः, सुन्धारा, ओकुबहाल, थैना, चक्रबहिल, तिच्छुगल्ली, इखालखु, जेनबहाः, पूर्णचण्डी हुँदै गाःबहालमै पुगेर जात्रा सम्पन्न भएको थियो ।

जात्राको पालोवालाको ज्वाईँ अथवा भान्जा अथवा पुरोहितलाई नृसिंह बनाई नगर परिक्रमा गराउने परम्परा अनुसार यस वर्षका पालोवाला कोमल जुजुका ज्वाईँ काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्याय नृसिंह बनेका थिए ।

नृसिंह बनेका सुवेदी काठमाडौं दिगु तलेजुका मूल पुजारी समेत हुन् ।

‘हाम्रो कर्म भनेकै वेद पाठ, देवीदेवताको सेवा नै हो, आफैं देवताको रुपमा निस्केर लोक कल्याणको कामना गर्ने अवसर प्राप्त भएको छ, आफुलाई निकै भाग्यमानी ठानिरहेको छु’ नृसिंह बनेको सुवेदीको भनाई थियो ।

नृसिंह भगवानसँगै सरस्वतीको रुपमा पाटन पिम्बहाल निवासी निधेश राजोपाध्याय थिए भने गाःबहाल निवासी निरज राजोपाध्याय लक्ष्मी बनेर नगर परिक्रमा गरेका थिए । प्रल्हाद भने नृसिंह बनेका सुवेदीकै भतिजा मखन निवासी विभान राजोपाध्याय बनेका थिए ।

महामारीको अवस्थामा निकालिएको जात्रा विधि मात्र पुरा गरी सम्पन्न गरिएको थियो ।

नृसिंहको अगाडी ६ जोडी अप्सरा पनि नगर परिक्रमा गराउने परम्परा रहेकोमा यस वर्ष अप्सराका जोडीलाई भने निकालिएको थिएन । अप्सराको जोडीलाई गाःबहालमै मात्र राखिएको थियो ।

त्यसैगरी कुनै किसिमको बाजागाजाको टोली र भजन मण्डलीसमेत राखिएको थिएन ।

‘साधारण ढङ्गले जात्राको विधि पूरा होस् र साधारणमै भव्य पनि देखियोस् भनेर हामीले योजना बनाएका छौं । रोगव्याधीबाट मुक्तिकै कामना गर्दै निकालिने जात्रा झन यस्तो समयमा बन्दै गर्न पनि मिलेन’ उपाकर्म गुठी व्यवस्थापन समिति ललितपुरका उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले भने ।

उपाकलं सायाः अन्तर्गत निकालिने नृसिंहलाई हिरण्यकश्यपुको वध गरिसकेर क्रोध  शान्त भइसकेका शान्त स्वरुपको नृसिंहको रुपमा लिइन्छ । कार्तिक नाच अन्तर्गत निकालिने नृसिंह भने हिरण्यकश्यपुको वध गर्न निकै क्रोधित अवस्थामा रहेका उग्र स्वरुप मानिन्छ ।

उपाकर्मलाई ब्राम्हण समुदायको सबैभन्दा ठुलो कर्मको रुपमा लिइन्छ । ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरुको उपाकर्मकै क्रममा यो जात्रा मनाउने गरिएको बताइन्छ । यो जात्रा सम्पन्न भएपछि मात्र ललितपुरका देव ब्राम्हणहरुको उपाकर्मले पूर्णता पाउने मान्यता छ ।

विश्व शान्तिको कामना गर्दै मनाइने यो जात्रा विना कुनै विघ्नवाधा, सफलतापूर्वक सम्पन्न भएमा भूकम्प, बाढिपहिरो लगायतका दैवीप्रकोप र रोगव्याधीबाट मानव समाजले मुक्ति पाउने जनविश्वास रहि आएको छ ।

आजको जात्रालाई समाचारडेस्कले लाइभ पनि गरेको थियो । समाचारडेस्कले गरेको जात्राको लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

Categorized in संस्कृति