पर्यटन बोर्डले फागुन २१ गते निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने
SamacharDesk – बिराज | २०८२ फाल्गुण १७, आइतबार
काठमाडौं । आगामी फागुन २१ गते नेपाल पर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने भएको छ ।
सो दिन सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि बोर्डले शटल बस सेवा सञ्चालन गर्न लागेको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म शटल बस सेवा उपलब्ध गराइने छ ।
उक्त सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ । शटल बस सेवा तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्नेछ ।
पहिलो मार्गअन्तर्गत नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म सञ्चालन हुनेछ ।
यस मार्गको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् भने बा १ प १३७८ नम्बरको बसमार्फत सेवा उपलब्ध हुनेछ ।
दोस्रो मार्ग महाराजगञ्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटल, चाबहिल, बौद्धस्थित हायात रीजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म सञ्चालन हुनेछ ।
यस मार्गका सम्पर्क व्यक्ति पवन गिरी रहेका छन् र बा १ प १३२० नम्बरको बस परिचालन गरिनेछ ।
तेस्रो मार्ग कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म सञ्चालन गरिनेछ ।
यस मार्गको समन्वय सुरज खड्गुले गर्नेछन् भने बा १ प १०८१ नम्बरको बस परिचालन हुने बोर्डले जनाएको छ ।
बोर्डका निमित्त निर्देशक सुनील शर्माले निर्वाचनका दिन यात्रुहरूलाई समयमै विमानस्थल पुग्न तथा गन्तव्यसम्म सुरक्षित रूपमा आवतजावत गर्न उक्त सेवाको उपयोग गर्न आग्रह गरेका छन् ।
Categorized in राष्ट्रिय




