arin enterprises

विदेशीनेहरुको आँकडा झन्झन् बढ्दो

SamacharDesk – राम डंगोल | २०७९ आषाढ १२, आइतबार

नेपालबाट विभिन्न कामकाजका लागि विदेशीने संख्या झन् झन् बढ्दो क्रममा छ ।

कोरोना कालमा विभिन्न मुलुकले कडाई गरेपनि अहिले खुल्ला भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेहरुको हो ।

२०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त संख्याले श्रम स्वीकृति लिएका हुन् । विभागले उनीहरुलाई श्रम स्वीकृति प्रदान गरेको हो । गएको जेठ महिनामा मात्र ६२ हजार ३४९ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ ।

जेठमा ८३ देशमा काम गर्न जानको लागि उनीहरुले श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३, २०७९ वैशाखमा ४५ हजार ४ र जेठमा ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो एघार महिनामा वैदेशिक रोजगारीमा जान प्रत्येक महिना औषतमा ५१ हजार ६२१ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेको संख्या यही क्रममा बढे चालु आर्थिक वर्षभित्र ६ लाख १९ हजार ४६० जनाले श्रम स्वीकृति लिएको हुनेछन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साता चिनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या स्वाट्टै घटेको थियो । महामारी रोक्न तथा नियन्त्रण गर्न सबै राष्ट्रहरुले लकडाउन गरेपछि वैदेशिक रोजागारीमा जानेको सख्ंया घटेको थियो ।

कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६÷७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो ।

Categorized in बिजनेस