arin enterprises

आदिवासी जनजाति चलचित्र महोत्सवमा ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट

SamacharDesk – बिराज | २०८३ जेठ १९, मंगलबार

छैठौं आदिवासी जनजाति चलचित्र महोत्सवमा गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ ले उत्कृष्ट चलचित्रको पुरस्कार जितेको छ ।

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा भएको तीन दिने चलचित्र महोत्सवमा यसै चलचित्रले उत्कृष्ट पटकथा (स्क्रिप्ट) को अवार्ड पनि जित्न सफल भएको छ । मगर वृत्तचित्र ‘आग्रे’ उत्कृष्ट वृत्तचित्र बन्न सफल भयो ।

उत्कृष्ट लघु चलचित्र पनि गुरुङ समुदायकै बन्यो । गुरुङ लघु चलचित्र ‘लाहुरेनी’ उत्कृष्ट लघु चलचित्र बन्यो । इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’ले पायो ।

जुरी अवार्ड राजवंशी वृत्तचित्र ‘बिराटनगरके प्राचिन राजवंशी’ ले पाउँदा लिम्बू चलचित्र ‘रीत’ले पब्लिक चोइस अवार्ड पायो । तामाङ चलचित्र ‘ह्याङ तामाङ’ का छायाङ्कार सूर्य लामा उत्कृष्ट छायाँकार बन्न सफल भए ।

नेपालभाषाको चलचित्र ‘स्वयनगु’बाट अभिनेत्री भिन्तुना जोशी उत्कृष्ट अभिनेत्री (नायिका) बनिन् । कल्याण राना मगरले मगर चलचित्र ‘दिलसरा’बाट उत्कृष्ट अभिनेता (नायक) को पुरस्कार हात पारे ।

उत्कृष्ट निर्देशकको पुरस्कार लिम्बू चलचित्र ‘रीत’ दिनेश लिङ्देनले जिते ।

गत जेष्ठ १७ गते आइतबारबाट चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सुरु भएको महोत्सवमा कथानक, लघु चलचित्र र बृत्तचित्र गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रियाको साथमा विभिन्न जातीय समुदायको झाँकी पनि प्रदर्शनी गरिएको थियो । महोत्सव अवधिभर विभिन्न जातजातिको मौलिक खानाका परिकारका स्टलहरु पनि राखिएको थियो ।

महासंघमा आदिवासी चलचित्रसम्बन्धी विभिन्न १४ ओटा जातीय संस्थाको प्रतिनिधित्व छ ।

समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले यस्ता महोत्सवले आदिवासी चलचित्रहरूलाई मूलधारमा आउन मद्दत पुग्ने बताए ।

महोत्सव निर्देशक सागर केरुङले यो महोत्सवमा आउँदा वर्षबाट अझ धेरै आदिवासी जनजाति चलचित्रहरू समेट्ने प्रतिबद्धता जनाए । महासंघकी अध्यक्ष भुइँसल लामाले महोत्सव गर्नुको उद्देश्यबारे प्रकाश पारिन् ।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति महासंघका उपाध्यक्ष अमृत सुनुवार, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले नेपालमा आदिवासी जनजाति समुदायका चलचित्रको अवस्थाबारे आफ्नो भनाई राखे ।

चलचित्र निर्देशक, पत्रकार एवम् नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक डब्बु क्षत्रीले नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अवस्थाबारे प्रकाश पारे ।

Categorized in पेजथ्री