arin enterprises

भक्तपुरको जात्रा स्थगित गर्ने निर्देशनप्रति काठमाडौंको जात्रा समितिबाट खेद

SamacharDesk – बिराज | २०७७ चैत्र २४, मंगलबार

भक्तपुरमा विस्केट जात्रा रोक्न स्थानीय प्रशासनले सूचना जारी गरेसँगै यसको चौतर्फी विरोध शुरु भएको छ ।

कोरोना संक्रमणको जोखिम देखाउँदै सामान्य पूजा मात्र गर्दै जात्रा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सूचना जारी भएपछि यसको चौतर्फी विरोध शुरु भएको हो ।

यस निर्णयको विरोधमा सोमबार भक्तपुरको न्यातपोलमा मानव सागर नै उर्लिएको थियो भने आज काठमाडौंको सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले पनि भक्तपुरको स्थानीय प्रशासनको निर्देशनप्रति विरोध जनाएको छ ।

समितिले विज्ञप्ती जारी गर्दै कोभिड १९ फैलिन सक्ने कारण देखाएर बिस्काः जात्रा र अन्य पर्व, परम्परालाई स्थगित गर्न सरकारी निकायहरुले जारी गरेको निर्देशनमा समितिको ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका अध्यक्ष नीलकाजि शाक्यबाट हस्ताक्षरित सो विज्ञप्तीमा साँस्कृतिक जात्रा पर्व, परम्परासम्वन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्वन्धित गुठीयारहरुको हुने गरेको र हुनुपर्ने दावी गरिएको छ ।

‘स्वास्थ्यसम्वन्धि मापदण्ड पालना गर्ने/गराउने र अन्य वैकल्पिक उपायहरु रहेको अवस्थामा पनि जात्रा पर्व, परम्परालाई निरन्तरता दिनुपर्ने सरोकारवालाले उल्टै जनसमुदायको भावना विपरित गएर गरेको सो निर्णयप्रति यस व्यवस्थापन समिति खेद व्यक्त गर्न चाहन्छ’ विज्ञप्तीमा लेखिएको छ ।

जात्रा स्थगित गर्ने सो निर्णय फिर्ता लिइ सुरक्षा र स्वास्थ्यसम्वन्धि उपाय अवलम्वन गरी सांस्कृतिक जात्रा, परम्परालाई निरन्तरता दिन पनि समितिले माग गरेको छ ।

Categorized in संस्कृति