arin enterprises

सलह र कोरोना महामारीबीच मनाइएको आजको धान दिवस

SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ १५, सोमबार

आज असार १५ गते, राष्ट्रिय धान दिवस । विशेष गरेर कृषि पेशासँग प्रत्यक्ष जोडिएका किसान समुदायले आज यो दिवस हर्षोल्लासका साथ मनाएका छन् ।

आजको यो दिवस खेतमा धान रोपेर मनाइने भएकोले यो दिनलाई रोपाईँ दिवस पनि भनिन्छ ।

आजको दिनको विशेष परिकार भनेको दहि चिउरा हो । दहि चिउरा खाने दिन भएकोले यसलाई दहि चिउरा दिवस समेत भनिन थालिएको छ ।

गर्मीको मौसममा टन्टलापुर घाममा रोपाईँ गरेर दही खानुको अर्थ शरीरलाई शीतलता प्रदान गर्नु हो । 

गर्मीको बेलामा काम गर्ने बेला पसीना खलखलती आउँछ र यस्तो अवस्थामा दहि खाँदा यसले शीतलता प्रदान गर्नुका साथै फाइबर र प्रोटिनको संयोजन दहि चिउराले शरीरलाई शक्ति पनि थप्न गर्दछ ।

विगतका दिनमा धान रोपेर किसान समुदायले मात्र मनाउने गरेको यो दिवस पछिल्लो समयमा आएर यसको लोकप्रियता बढ्दै गएको छ ।

यसै परिवेशमा खेतमा धान रोप्न नपर्नेहरुले पनि दहि चिउरा खाँदै धान दिवस वा रोपाईँ दिवस मनाउन थालेको पाइएको छ ।

साथै सामाजिक संजालको भित्तामा फोटो पोस्ट्याउनका लागि नै भएपनि यूवाहरु आजको दिन खेतमा धान रोप्न जाने गरेको पनि देखिन्छ ।

नेपालमा असार १५ गतेलाई दिवसकै रुपमा मनाउन थालिएको १५ वर्षमात्रै भयो । सन् २००५ देखि असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिएको हो ।

आजको दिनमा खेतमा धान रोप्दै नाच्दै, खेतको हिलोसँग खेल्दै रोपाईँको संगीतको भाकाहरूमा रम्ने गरिन्छ ।

विगत १५ वर्षदेखि आजको दिनलाई धान दिवस भनिन थालिएको भएपनि काठमाडौं उपत्यकाका नेवार समुदायले भने सदियौं अगाडीबाट मंसीर पुर्णिमाको दिनमा यमरि पुन्हिलाई धान दिवसको रुपमा मनाउने गरेको पाइन्छ ।

नेपाललाई कृषिप्रधान देशको रुपमा चिनिन्छ । कृषि र कृषकको सम्मानार्थ धान दिवसको रूपमा मानिनु राम्रै पक्ष हो । तर दिवसलाई एउटा औपचारिकता रुपमा मात्र लिने हो भने यसले सार्थकता पाउने छैन ।

कृषि प्रधान देशमा चामलसम्म पनि छिमेकी मूलुकबाट आयात हुनु, तरकारी, फलफुल लगायतका हरेक कृषि उत्पादनमा छिमेकी मूलुककै भर पर्नुपर्ने अवस्था दुःखद नै मान्नुपर्छ ।

फेरी यो वर्ष कोरोना महामारीले सताएको समय, त्यसमाथि केही दिन अघिबाट मात्रै नेपालमा बाली नष्ट पार्ने सहल किरा प्रवेश गरेको अवस्थामा कृषकहरु चिन्तित छन् ।

सामाजिक दुरी लगायतका सावधानी अपनाई खेतीपाती गर्नुपर्ने अवस्थामाथि बालीलाई सलहबाट जोगाउने चिन्ता पनि कृषकमाथि थप भएको छ ।

कृषकहरुका यो चिन्तामा राज्यले गम्भीर भएर कार्ययोजनामा लाग्नुपर्ने हो ।

बन्दाबन्दीको अवस्थामा ढुवानी लगायतका समस्या हुँदा बाहिरी जिल्लामा तरकारी खेर गएको बेला राजधानीवासीले महँगो मूल्यमा तरकारी किन्नुपर्ने वाध्यता थियो ।

देशलाई कृषिमै आत्मनिर्भर बनाउन सकिए विदेशबाट रोजगार गुमाएर मातृभूमि फर्किने यूवाहरु पनि कृषि पेशामै आकर्षित हुनसक्थे ।

यसले कृषि उत्पादनमा देशलाई परनिर्भरताबाट जोगाउँछ भने देशको अर्थ व्यवस्था उकास्न समेत टेवा दिनेछ । 

कृषि पेशाको विकासको लागि राज्यले दीर्घकालीन योजना बनाइनु आवश्यक छ ।

Categorized in समाज