arin enterprises

असनमा खट जुधाउँदै पाहांचःर्‍हे सम्पन्न

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ चैत्र १९, शनिबार

आज असनको रौनक बेग्लै थियो । सधैं जसो नै भीडभाड भइरहने असन चोकमा आज पनि भीड थियो तर, आजको भीडको उल्लासकाे कुरै अर्काे ।

अरु बेला किनमेल गर्ने मानिसहरुको भीडभाड भइरहने असन चोकमा आज भने जात्रालुहरुको बाक्लै भीड थियो ।

पुरै असन चोक पहेंलो टोपी, रातो टोपी र नीलो टोपीले रंगीचंगी देखिएको थियो । आज पाहाँचःर्‍हे पर्वको अन्तिम दिन, असनमा खट जुधाउने जात्रा । यहि खट जुधाउने जात्राको लागि जात्रालुहरु असन चोकमा भेला भएका थिए ।

सांस्कृतिक बाजा टोली नायखिं, भुस्याः बजाउँदै रमाइरहेका थिए भने अरु बाजाको तालसँगै नाचेर मस्त थिए ।

खट जुधाउनका लागि भनेर आजको दिनमा असनमा कंग अजिमा (कंकेश्वरी), लुँमधि अजिमा (भद्रकाली) वटु र र टेबहालको लुँमधि अजिमालाई असन ल्याइन्छ ।

तीनवटा टोलबाट तीनवटै बाजा टाेली असन पुगेकाे थियाे । तीनै वटा बाजा टोलीबीचमा बाजा बजाउन प्रतिस्पर्धा नै भइरहेको थियो । प्रतिस्पर्धासँगै बाजाको स्वर पनि चर्किँदै थियो भने सबैको जोश पनि बढ्दै थियो ।

शुरुमा टेबहाः भद्रकाली र वटु भद्रकालीको रथ असन आइपुग्यो । अन्तिममा कंग अजिमाको खट पनि असन पुर्‍याइयो ।

तीनवटै खट असन पुगेपछि एकले अर्को खटलाई परिक्रमा गराइयो । परिक्रमाको क्रममा खटमा बसेको मानिसले मसाल एक आपसमा साटासाट गरियो । यहि मसाल साटासाट गर्नुलाई नै खट जुधाउने भनिने हो ।

सो क्रममा असनको घर घरको छानाबाट चतांमरि छर्ने गरिन्छ ।

खट जुधाउने प्रकृया पूरा भएपछि फेरी बाजा टोलीसँगै तीन वटा खटलाई आ–आफ्नो ठाउँमै फर्काइएको थियो ।

योसँगै यस वर्षको पाहाँचःर्‍हे पर्व पनि सम्पन्न भएको छ । गत चैत्र कृष्ण चतुर्दशी शुक्रबारबाट शुरु भएको पर्व आज सम्पन्न भएको हो ।

जात्राको पहिलो दिन टोल टोलमा स्थानीय देवीदेवतालाई खटमा विराजमान गराइन्छ भने सबैले आ आफ्नो चोकमा भएका लुकुमहाःद्यःको पूजा गर्ने गरिन्छ ।

पर्वको भोलिपल्ट चैत्र औंशीको दिनमा टोल टोलमा व्रतवन्ध सम्पन्न भइनसकेका बालकहरुलाई मरःजा ख्वाउने गरिन्छ । तान्त्रिक विधिबाट पूजा गरी तयार गरिएको भात ‘मरःजा’ ख्वाउनाले बच्चाहरुलाई रोगले नछुने, रुन्चे नलाग्ने जनविश्वास रहि आएको छ ।

जात्राको अन्तिम र तेश्रो दिन असनमा खट जुधाइन्छ ।

फोटो ग्यालरी : असनय् खः ल्वाकेगु : फाेटाे फिचर
Categorized in संस्कृति