arin enterprises

पशुपतिनाथको जलहरी जोखियो, विवाद कायमै

SamacharDesk | २०८० आषाढ ११, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरीमा प्रयोग भएको सुनको नापतौल र गुणस्तर परीक्षण गरेको छ ।

आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो। सीसीटीभी समेत जडान गरी गरिएको नापतौल र परीक्षण राती १ बजे सम्पन्न भएको थियो ।

पशुपति क्षेत्र विकास कोष सम्वद्ध स्रोतका अनुसार जलहरी तथा जलहरीमा लगाइएको दुई थान पेटिकामा समेत गरी जम्मा १ सय ६ दशमलव ४३२५ किलो सुन रहेको जनाइएको छ । यस्तै जलहरी कस्नलाई बनाइएका काँटीको तौल १ दशमलव ३७५ किलो रहेको छ । सु्नको गुणस्तर भने २२ क्यारेटको रहेको स्रोतले जनाएको छ ।

२०७७ साल माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न लगाउनु भएको थियो । पशुपति क्षेत्र विकास कोषको ५० करोड र नेपाल सरकारको ३० करोड रुपैयाँको लगानीमा नेपाल राष्ट्रबैंकबाट १ सय ३ किलो ७७३ ग्राम सुन किनेर जलहरी राखिएको थियो ।

उक्त सुनमा तामा, चाँदी र जिङ्क मिसाएर जलहरी बनाइएको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा पशुपतिमा सुनको जलहरीको विषयमा मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको हो।

पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुन मध्ये ११ किलो सुनको हिसाब नदेखिएकोले प्रश्न उठाएपछि विवाद चर्किएको थियो ।

महालेखा परीक्षकको कार्यालयलाई कोषले उपलब्ध गराएको विवरणमा भने खरिद भएको सुनसहित २ केजी ८ सय ९० ग्राम तामा, १ केजी २ सय ४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित १ सय ७ केजी ९ सय २४।७५ ग्राम गरेर १ सय ७ केजी ९ सय २४.७५ ग्रामको जलहरी बनाइएको उल्लेख छ ।

कोषले महालेखालाई मुचुल्काबाहेक १० केजी ९ सय ७६ ग्रामको सुनको रिङ बनाएर जलहरीमा राखेको विवरण दिएको थियो । तोकिएको परिमाणभन्दा कम उल्लेख गरेर तयार पारिएको मुचुल्का नै शंकास्पद भेटिएपछि जलहरी निर्माण प्रक्रियाबाट बाहिर राखिएका कोषका केही सदस्यले आफ्नै कार्यालयसँग यसबारे हिसाब माग्दा दिइएन । त्यसपछि यो विषय अख्तियार पुगेको थियो ।

जलहरी नै केही दिनमै चुँडिएपछि अनियमितता ढाकछोप गर्ने प्रयास भएको थियो । कोषले महालेखालाई बुझाएको विवरणमा कालीगढलाई उपलब्ध गराइएको ज्याला उल्लेख नगरी एकमुष्ट हिसाब देखाइएको छ ।

कोषकै पदाधिकारीको मिलेमतोमा बिनाप्रतिस्पर्धा पाटनका उपेन्द्र बाराही (शिल्पकार)लाई जलहरी बनाउने जिम्मा दिइएको थियो । त्यसका लागि ज्याला मात्रै ५५ लाख रुपैयाँ भुक्तानी गरिएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । सुनको जलहरी बनाउन तामाका कालिगडलाई संलग्न गराइएको पनि देखिन आएको छ । जलहरी निर्माणको ज्याला नै अस्वाभाविक रहेको जानकारहरू बताउँछन् ।

यता पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार राष्ट्र बैङ्कबाट दुई पटक गरी १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको बताउनु हुन्छ ।

उहाँका अनुसार सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको र सेनाकै रोहवरमा पशुपति क्षेत्रको रुद्रगारेश्वरस्थित ज्यासलमा राखिएर जलहरी बनाइएको बताउनुभयो।

उहाँले जलहरी निर्माणका क्रममा तयार गरिएको मुचुल्का बमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भागको सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको हो। उहाँले बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको र सोको पनि नापतौल भएको बताउनुभयो।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा कोषको मुचुल्कामा ‘जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको’ उल्लेख छ। 

प्रतिवेदनमा रिङ बनाउन प्रयोग भएको सुनको मूल्य सात करोड ८६ लाख ४६ हजार रुपियाँ रहेको उल्लेख छ। जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरिएको प्रतिवेदनमा प्रस्तुत गरिएपछि यो विषय विवादित बनेको हो।

Categorized in राष्ट्रिय