पाटन दरबार क्षेत्र धुम्रपान निषेधित क्षेत्र घोषणा
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २०, शुक्रबार

ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेकोछ ।
शुक्रवार महानगरपालिकाले पाटन दरवार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाका कारण सफल हुन नसकेको बताउनुभयो ।
मेयर महर्जनले ‘स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट भएको र अहिले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गरेको बताउनु भयो । सुरुवाती ७ दिनसम्म चुरोट नखान आग्रह गर्ने र पछि जरिवाना लगाउने उहाँले बताउनुभयो । जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
मेयर महर्जनले सरकारले विभिन्न कानून तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापर्बाही नगरि कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाउनुभयो ।
Categorized in स्थानीय