पाटनको तलेजु ४०४ बर्ष लागिन्
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १६, मंगलबार

ललितपुरको तुलजा अर्थात तलेजु भवानी ४०३ वर्ष पूरा भएर ४०४ बर्षमा टेकेकी छन् । आज तुलजा भवानीको जन्मोत्सव विशेष त हुने भइहाल्यो ।
आज तलेजुको जन्मोत्सव ललितपुर दरवार क्षेत्रमा धुमधामका साथ मनाइएको छ । देवी देवता अथवा मन्दिरको जन्मोत्सव अथवा स्थापना भएको दिनमा गरिने यस किसिमको पूजालाई स्थानीय भाषामा बुसादँ भन्ने गरिन्छ ।
तलेजु भवानीको बुसादँको अवसरमा आज ललितपुर दरवारमा कुशकण्डीका यज्ञ र देश बलि पूजा गरिएको थियो ।
यस क्रममा तलेजुका पुजारी बिनोद ज्वालानन्द राजोपाध्यायले कुशकण्डीका यज्ञ गरेका थिए भने देशबलि पूजा हंसराज कर्माचार्यले गरे । यस्तै तलेजु भवानीको मुलपूजा ओम ज्वालानन्द राजोपाध्यायले गरेका थिए ।
ललितपुरमा तलेजु भवानीको स्थापना तत्कालीन समयमा काठमाडौका राजा शिवसिंह मल्लले सिद्धिनरसिंह मल्ल र उनकी आमा लालमतिलाई पाटनमा महा सामन्त बनाएर राज्य गर्न पठाएका थिए ।
यसै सिलसिलामा लालमति तुलजा भवनीको यन्त्र आफ्नो साथमा लिइ छोरा सिद्धिनरसिंह मल्लसँग पाटन बस्न आएकी थिइन् ।
राजा बन्नका लागि दिक्षित हुनुपर्ने भएको हुँदा वकनिम्हका विश्वनाथ उपाध्यायलाई गरु स्थापना गरी सिद्धिनरसिंह मल्लले दिक्षा पनि लिए ।
दिक्षा लिइसकेपछि नेपाल सम्वत ७४० जेष्ठ शुक्ल दशमी बुधबारका दिन सिद्धिनरसिंह मल्लको राज्याभिषेक गरिएको थियो ।
त्यससँगै सोही दिन अर्थात् जेष्ठ शुक्ल दशमीकै दिन ललितपुर दरवार भित्र हालको मूलचोकमा कोट्याहुती यज्ञ गरेर तलेजु भवानीको पनि स्थापना गरिएको थियो ।
सो दिनबाट विश्वनाथ उपाध्याय र उनकै सन्ततीहरुले तलेजु भवानीको नित्य पूजालाई निरन्तरता दिँदै आएको छ, जुन आजको दिनसम्म पनि निरन्तर छ ।
साथमा हरेक वर्षको जेष्ठ शुक्ल दशमीको दिन तलेजु भवानीको बुसादँ पनि गरिँदै आएको छ ।
Categorized in संस्कृति
