प्रधानमन्त्री दाहाल भारत प्रस्थान
SamacharDesk | २०८० जेठ १७, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
नेपाल एयरलाइन्सको उडानबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली बुधबार दिउँसो भारत प्रस्थान गरेको हो । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अन्य पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।
टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाललगायत छन् ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भारतसँग विद्युत व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायतका कार्यक्रम तय भएका छन् ।
यस्तै नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवम् हवाई मार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Categorized in राजनीति