arin enterprises

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

SamacharDesk | २०८० जेठ १८, बिहिबार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आज बिहान हैदरावाद हाउसमा दाहाल र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

त्यस क्रममा नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।

यस्तै भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको दुवै प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । दाहाल र मोदीले उद्घाटन गरेपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ । त्यसैगरी बाँकेको नेपालगञ्जमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको पनि संयुक्त रुपमा उद्घाटन भएको छ ।

नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० ३ महिनाभित्रै टुंगो लगाउने सहमति भएको छ । ३ महिनाभित्र पञ्चेश्वरको डीपीआरको टुंगो लगाएर एक वर्षभित्र लगानीको प्रारुप टुंग्याउने सहमति भएको बताएका छन् ।

त्यस्तै नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रूपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ ।

यसअघि अल्पकालीन सम्झौतामार्फत हुँदै आएको बिजुली व्यापार अब भने दीर्घकालीन विद्युत व्यापार सम्झौतामार्फत हुने भएको छ । नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने भएको छ ।

त्यसमा माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुली समेत भारतले खरिद गर्ने भएको छ । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ ।

सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुनसकेको थिएन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।

चारदिने भ्रमणका अवसरमा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ ।

Categorized in राष्ट्रिय