arin enterprises

खेतमा धान रोप्दा प्रहरीले हाने अश्रुग्याँस

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ २१, आइतबार

किसानले आफ्नै खेतमा धान रोप्दा पनि प्रहरीले अश्रुग्याँस प्रहार गर्यो । सुन्दा पनि अचम्म लाग्ला । कत्तिले त विश्वास पनि नगर्ला ।

तर सत्य नै हो । किसानले आफ्नो खेतमा धान रोप्न खोज्दा प्रहरीले लाठी बर्सायो र अश्रुग्याँस प्रहार गर्यो ।

खोकनाका किसानले यसभन्दा अघि असार १५ गते पनि धान रोप्न खोज्दा प्रहरीले हस्तक्षेप गरेका कारण पुरै खेत जोत्न पाइएन । त्यसैले २० गते फेरी बाँकि खेतमा धान रोप्ने कार्यक्रम थियो ।

तर यो बेला त प्रहरीले लाठि चार्ज मात्र गरेन, दर्जन बढि सेल अश्रुग्याँस समेत प्रहार गरे । तर खोकनाका किसान पछि हटेनन् र धान रोपि नै रहे ।

प्रहरीले रोपाईँ रोक्न भर मगदुर प्रयास गरे । अभियन्ता विद्या श्रेष्ठ महिला एक्लैलाई पुरुष प्रहरीको समूहले घेरेर लाठी चार्ज गरेको फोटो त सामाजिक संजालमा भाइरल नै बन्यो । 

प्रहरीले यसरी दमन गर्न थालेपछि स्थानीय वासिन्दाले पनि प्रहरीमाथि ढुङ्गामुढा गरे । केही प्रहरीको साथै केही स्थानीय पनि घाइते भए ।

स्थिती झन विग्रिनसक्ने देखिएपछि स्थानीय अभियन्ताहरुले सबैलाई संयमित हुन आग्रह गरे । प्रहरीलाई पनि संयमित हुन आग्रह गर्न जाँदा तिनै अभियन्ताहरुमाथि पनि प्रहरीले लाठि बर्साए । तर उनीहरु संयमित रहँदै स्थितीलाई नियन्त्रणमा लिए ।

त्यहि बेला राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि तुलसी थापा पनि आइपुगे र उनकै उपस्थितीमा प्रहरी र स्थानीय किसानहरुको वार्ता भयो । अन्ततः किसानहरुको रोपाईँमा प्रहरीले कुनै हस्तक्षेप नगर्ने सहमति भयो ।

खोकनावासीले रोपाईँ त गरे, धान काट्न पो पाइने हो कि होइन, ठेगान छैन । मुआब्जा नलिएको जग्गामा पनि धान काट्ने बेला फेरी यसरी नै हस्तक्षेप पो हुने कि हो कि के थाहा ?

कृषि प्रधान देशको परिस्थिती यस्तो छ । भन्नलाई कृषि प्रधान देश तर चामल पनि छिमेकी राष्ट्रबाटै मगाएर खानुपर्ने । अनि किसानले रोपाईँ गर्छु भन्दा राज्यले रोक्ने ।

यहि फास्ट ट्र्याककै रुटमा परेको कुदेशमा करीब १२ हजार वर्ष पुरानो दावी गरीएको अवशेषहरु समेत फेला परेको छ

खोकनाका किसानले रोपाईँ नगरेको ४ वर्ष भयो । यस पालि अब त अति भयो भन्दै खोकनावासी जुर्मुराए र रोपाईँ गर्न हिँडे । राज्यले जतिसुकै दमन गरोस्, पछि नहट्ने अठोटसहित उनीहरु अघि बढे ।

खोकनाको खुदोल क्षेत्र काठमाडौं निजगढ जोड्ने द्रुतमार्गको जिरो प्वाइन्ट हो । फास्ट टर्याक बनाउने भन्दै राज्यले यो क्षेत्रका खेत जोत्न रोक लगाएको छ ।

तर खोकनावासीले यहाँबाट फास्ट ट्र्याक बनाउने कुरा स्वीकार गरेका छ्र्रैनन् । बाटो बनाउनलाई आफ्नो पेट पाल्ने आधार बनिरहेको खेत नमास्न भन्दै आएका छन् ।

यसको साथै सोही फास्ट ट्र्याकमा खोकनाका पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वका सम्पदा समेत परेका छन् । यहि फास्ट ट्र्याककै रुटमा परेको कुदेशमा करीब १२ हजार वर्ष पुरानो दावी गरीएको अवशेषहरु समेत फेला परेको छ ।

मुआब्जा पनि कौडीको भाउमा तोकेको र ऐतिहासिक सम्पदा समेत मासेर स्थानीय किसानहरुलाई विस्थापित गर्न लागेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन् ।

किसानको लागि भुमि भनेको मात्र माटो अथवा मूल्यसँग दाँज्ने वस्तु हुन पनि सक्दैन । र सम्पदा नै मासेर सडक बनाएर कस्तो खाले विकास खोजेको भन्ने प्रश्न पनि उठ्छ ।

फेरी यसरी विभिन्न वहानामा कृषि योग्य जमिन कति मास्दै जाने, सबैभन्दा महत्वपूर्ण र गम्भीर प्रश्न त यहि नै हो ।

खोकनावासीले पनि विकासको नाममा हामीले कति जग्गा छोड्नुपर्ने भन्दै प्रश्न उठाइरहेका छन् ।

खोकनाकै मात्र उदाहरण लिने हो भने छोटो समयावधिमै यहाँका किसानहरुले हजार रोपनीभन्दा बढि जग्गा गुमाइसकेका छन् ।

रेडियो नेपालको टावर राख्नलाई भन्दै ८० रोपनी जग्गा अधिकरणमा पर्यो भने खानेपानी संस्थानको ट्यांकिको लागि भनेर फेरी ६० रोपनी जग्गा गुमाउनुपर्यो । 

यदि यसैलाई विकास मान्ने हो भने खोकनावासीको जीवनस्तर झन खस्किँदै किन गयो त

यति मात्र कहाँ हो र, भैंसेपाटी आवासको लागि त करीब ३ सय ५० रोपनी जग्गा गयो । सेनाको चौरको लागि भनेर करीब ३ सय रोपनी जति नै पर्यो । अहिले आएर फास्ट ट्र्याकका लागि पनि खोकनावासीले नै जग्गा दिनुपर्ने भयो ।

सरकारले विकास भन्दै जग्गा अधिकरण गर्दै गए र खोकनावासीले दिँदै गए । यदि यसैलाई विकास मान्ने हो भने खोकनावासीको जीवनस्तर झन खस्किँदै किन गयो त ?

विकास भनेको बाटै मात्र हो भने यस्ता विकासे योजनाहरु जहिल्यै काठमाडौं केन्द्रीत किन भइरह्यो । दुरदराजका गाउँघरमा सडकको सुविधा पुर्याइ विकाससँग जोड्नुपर्ने होइन र ?

राज्य आफैले विभिन्न वहानमा यसरी खेतीयोग्य जमिन मास्दै गएर देशको कृषि उत्पादन पनि घटाउँदै गएको छ । विकासको नाममा सडक बनाउँदा काठमाडौंका कति रैथाने सडकमा पुगे भन्ने तथ्याङ्क राज्यसँग पनि छैन ।

विकासलाई जनताको जीवनसँग जोडेर अगाडी लानुपर्नेमा जनतालाई पेलेर लगेमा यसले कुनै अर्थ राख्दैन भन्ने सानो कुरा राज्यले बुझ्नु आवश्यक छ ।

Categorized in बिचार
SKIP THIS four nine