नेपाल र चीनबीच चलचित्र आदानप्रदान गर्ने सम्भावना बढ्यो
SamacharDesk – विजयरत्न | २०८३ जेठ १९, मंगलबार
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्महरूको प्रदर्शन काठमाडौंमा सुरु भएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान र चिनिया चलचित्र प्रशासनको आयोजना तथा चिनिया सांस्कृतिक केन्द्र नेपालको तत्वावधानमा काठमाडौंमा उक्त ६ वटा चिनियाँ चलचित्र प्रदर्शनी सुरु भएको हो ।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्ध्दन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम सागर झान निर्देशित फिल्म ‘ट्रयाप्ड’ प्रदर्शनसँगै सुरु भएको हो ।
ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पाठकले यस प्रकारका कार्यक्रमले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप प्रगाढ हुने र चीनमा नेपाली फिल्म वितरण र प्रदर्शनको पक्षमा सहयोग पुग्ने अपेक्षा छ व्यक्त गरे ।
नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पानले मिनिस्टर काउन्सिलर पानले चलचित्र मनोरञ्जनको साधन मात्रै नभएको जिकीर गरे ।
‘चलचित्रले सामाजिक, राजनीतिक र सामाजिक परिवेश बुझ्न सहयोग गर्दै दुई देशको सम्बन्धमा थप निकटता ल्याउँछ । यस्ता कार्यक्रमले दुई देशका फिल्मकर्मीबीच व्यवसायिक सहकार्यको बाटो खुलाउँछ’ काउन्सिलर पानले भने ।
वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्म प्रदर्शन र वितरणमा सहयोग र सहकार्यको आवश्यक रहेको बताउँदै सहजीकरणका लागि आग्रह गरे ।
कार्यक्रममा नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, नेपालका कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नायक प्रमोद अग्रहरीलगायत अन्य चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।
काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा बिहिवारसम्म जारी रहनेछ ।
कार्यक्रमको पहिलो दिन अन्य दुई फिल्म ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएको थियो ।
Categorized in पेजथ्री




