संघर्षबाट प्राप्त उपलब्धीमाथि सरकारबाट नै प्रहार भइरकेको प्रचण्डको भनाई
SamacharDesk – बिराज | २०७८ बैशाख १८, शनिबार

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष साथै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारबाट नै श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि निरन्तर प्रहार भइरहेको दावी गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत रहेको बताउँदै प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध हुन आव्हान गर्नुभएको छ ।
सोही विज्ञप्ती मार्फत अध्यक्ष प्रचण्डले निषेधाज्ञामा रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजिवीहरुका लागि खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न पनि माग गर्नुभएको छ ।
‘कोरोना भाइरस (कोभिड–१९दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको छ, उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु’ विज्ञप्तीमा लेखिएको छ ।
साथै समस्यामा परेका रोजगारविहिन श्रमिकहरुका लागि खुला हृदयले सहयोगी हात बढाउन सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा उहाँले अपिल गर्नुभएको छ ।
वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा श्रमजीवि मजदूर किसान जनसमुदायको बलिदानका कारण नै आज समाजवादी लक्ष्यतर्फ लामवद्ध हुन आइपुगेको प्रचण्डको भनाई रहेको छ ।
