राष्ट्रपति उम्मेदवार खोज्न दलहरुबीच दौडधूप
SamacharDesk | २०७९ फाल्गुण १२, शुक्रबार

राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताको लागि शीर्ष दलहरु निकै व्यस्त हुन थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सबैजसो दलसँग छलफल गर्न व्यस्त छन् । यसै क्रममा गत मंसीर चार गतेको निर्वाचन अघिको सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठक साँझसम्म निष्र्कष निस्कने गरी वार्ता सकिएको छ ।
नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीबीच वार्ता भएको हो । चार दलीय बैठकमा नेपाली काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ ।
शुक्रबारको बैठकमा काँग्रेसले आफ्नो अडान राखेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वभाविक दाबी गरेको बताउनु भयो ।
बैठकमा काँग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको बताउनु भयो । महामन्त्री थापाले प्रस्तावमा आएका नामहरुका बारेमा दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरी पुनः ५ बजे बैठक बस्ने सहमति भएको बताउनु भयो ।
राष्ट्रपति उम्मेदवारकै सिलसिलामा हिजो साँझ कांग्रेस बाहेकका तीन दलबीच भएको वार्तामा माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको थियो ।
तर नेता नेपालले आफ्नो उम्मेदवारीमा राष्ट्रिय सहमति हुनुपर्ने भनेपछि प्रधानमन्त्री दाहालले आज कांग्रेससहितको वैठक डाक्नु भएको हो ।
यसैबीच प्रधानमनन्त्री दाहालले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि वार्ता गर्ने बुझिएको छ । एमाले अध्यक्ष ओली पनि आज प्रधानमन्त्री दाहालसंग निर्णायक वार्ताको तयारीमा रहेको बुझिएको छ ।
आज दिनभरको गृहकार्यपछि मात्रै एमालेले राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिने भएको छ । एमालेले राष्ट्रपति निर्वाचनलाई लिएर भोलि विहान सचिवालय वैठक डाकेको छ ।
यस्तै कांग्रेसले पनि राष्ट्रपति निर्वाचनमा उम्मेदवारी छलफल गर्न भोलि बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
Categorized in राजनीति