मेस्सीको कीर्तिमानसँगै पीएसजी लिग वान च्याम्पियन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १४, आइतबार

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले लिग वानको उपाधि जितेको हो ।
यो बराबरीसँगै च्याम्पियन पीएसजीले ३७ खेलमा ८५ अंक जोडेको छ । पीएसजीले ११ औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो ।
गएराति स्टार्सवर्गको घरेलु मैदानमा भएको खेलको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।
यो मेस्सीको युरोपको शीर्ष पाँच लिगमा ४ सय ९६ औं गोल हो । उनले रोनाल्डोको नाममा रहेको ४ सय ९५ गोलको कीर्तिमान तोडेका छन् ।
त्यसपछि खेलको ७९ औं मिनेटमा केभिन गेमिरोले गोल गर्दै स्टार्सवर्गलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै स्टार्सवर्ग ४० अंक जोडेर १५ औं स्थानमा रह्यो ।
Categorized in स्पाेर्ट्स