बरामद गरिएको बहुमल्य ढुंगा गोरखा दरबारको शोभा बन्ने
SamacharDesk | २०८० श्रावण २९, सोमबार

गोरखा नगरपालिका-७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने भएको छ ।
पुर्खाको नासोको रुपमा भगवान मानि पूजा गरिंदै आएको उक्त बहुमूल्य ढुंगा अनुसन्धानबाट क्वार्टज क्रिस्टल बहुमूल्य धातु रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
गोखारका स्थानीय राममाया शाहीको घरबाट गत असार २९ गते ५२ किलो ३३० ग्राम तौलको बहुमूल्य ढुङ्गा बरामद भएको थियो र शताब्दीभन्दा बढी समयदेखि उक्त ढुङ्गालाई देवी भगवतीको रुपमा परिवारले पूजा गर्दै आएको थियो ।
ढुङ्गालाई पुजा गर्ने परिवार र स्थानीयवासीले ढुङ्गालाई जिल्लाबाहिर राख्न नहुने माग गर्दै विरोध गरेपछि आइतबार बसेको सर्वदलीय बैठकले निर्णय गरेको उपमेयर मसालीमाया थोकरले बताउनुभयो ।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।
आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसर भित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको उनले बताए ।
भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिइ उत्खनन् तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो ।
परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए ।
यसैबीच सामाजिक सञ्जालहरुमा यसको विरोध शुरु हुन थालेको छ । घरधनी सम्मिलित सर्वपक्षीय बैठकले उक्त ढुंगालाई गोरखा दरबारमा राख्ने निर्णय गरे पनि घरधनीलाई अन्याय भएकोले उनीहरलाई उचित क्षतिपूर्ति दिएर मात्र सो बहुमूल्य वस्तु लिनुपर्ने कुरा उठ्न थालेको छ ।
सोझासाझा निमुखा नागरिकले बाउ बाजेको नासो सुरक्षित राखी कूल भगवान मानी कूल पूजा गरिंदै आएको बहुमूल्य वस्तुलाई यसरी राज्यले एकैपटक कब्जा जमाउन नमिल्ने बताइरहेका छन् ।
Categorized in राष्ट्रिय