arin enterprises

राम नवमी पर्व मनाईंदै

SamacharDesk | २०७८ चैत्र २७, आइतबार

आज रामनवमी । चैत शुक्ल नवमीका दिन आज सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी मनाउँदैछन् ।

असत्यमाथि सत्यको विजयको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको मानिन्छ ।

भगवान् रामले पिता दशरथ, भाइ लक्ष्मण, भरत, शत्रुधन र धर्मपत्नी सीताप्रति प्रकट गरेको आदर्श तथा दुनियाँदारका लागि गरेको न्यायको संस्मरण गर्दै मर्यादा पुरुषोत्तमका रूपमा उनको आराधना गर्ने प्रचलन छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर, पशुपति आर्यघाटमा रहेको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने गरेको छ ।

सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Categorized in संस्कृति