arin enterprises

जसपा नेता यादवलाई “पहिलो गाँसमै ढुंगा”

SamacharDesk | २०७९ फाल्गुण २७, शनिबार

उपराष्ट्रपति पदका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिनु भएका जसपा नेता रामसहायप्रसाद यादवलाई “पहिलो गाँसमै ढुंगा” सावित भएको छ ।

आज निकै तामझामका साथ आयोगमा उम्मेदवारी दिन जानु भएका यादवविरुद्ध आयोगमा उजुरी परेको छ ।

गठबन्धन दलबाट उपराष्ट्रपति पदका लागि निकै अगाडिदेखि नाम प्रस्ताव भएका यादको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी रहेका छन् ।

समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

यादव विरुद्ध नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले उजुरी दर्ता गराउनुभएको हो ।

बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि निर्वाचन कार्यक्रम तालिका अन्तर्गत उम्मेदवार विरुद्धको दावी विरोधको कार्यक्रम सूरु भएपछि बर्तौलाले यादवको उम्मेदवारी विरुद्ध उजुरी गर्नुभएको हो ।

उजुरीमा नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६ को ५ अनुसार पनि उपराष्ट्रपतिको लागि उमेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्तिभन्दा फरक लिङ्ग वा समुदायको हुनुपर्ने उल्लेख भएको जिकिर गरिएको छ ।  

Categorized in राष्ट्रिय