सबै वित्तीय संस्थालाई एउटै नजरले नहेर्न आग्रह
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण २१, आइतबार

सबै वित्तीय संस्थालाई एउटै डालोमा राखेर मुल्यांकन गर्न नमिल्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा वक्ताहरुले निश्चित बहुउद्देश्यीय तथा लघुवित्त संस्था सञ्चालन गर्ने गलत नियत भएका सञ्चालक तथा व्यवस्थापकहरुको कारणले अहिले विषम परिस्थितिको सिर्जना हुनपुगेको दाबी गरे ।
कार्यक्रममा बोलदै मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णकाजी मानन्धरले नियामक निकायबाट वित्तीय संस्थालाई हुनुपर्ने नियमित र व्यवस्थित ढंगको अनुगमन र निरीक्षण अभावले अहिलेको अवस्था आएको दाबी गरे ।
देशको तीन खम्बे अर्थ नीति बमोजिम सरकार, निजी क्षेत्रपछि सहकारीको नाम आउने विचार राख्दै अध्यक्ष मानन्धरले सहकारीले सदस्यहरुबाट ससाना पुँजी संकलन गरी सदस्यहरुको आर्थिक र सामाजिक क्षेत्रको उत्थानको लागि उनीहरुलाई सुरक्षित तबरले लगानी गर्नुपर्ने बताए ।
‘तर विडम्वना केही निश्चित सहकारीले ती सिद्धान्त बेगर काम गरेका छन् । सामाजिक सेवा भावले सञ्चालन भएका सहकारीलाई समेत त्यस्ता समस्याग्रस्त सहकारीको नकारात्मक प्रभाव परेको राम्रो विषय होइन’ अध्यक्ष मानन्धरको भनाइ थियो ।
बढी व्याजको लोभ देखाएर पैसा मात्र संकलन गर्ने नियतले आएका सहकारीहरु मात्र समस्याग्रस्त अवस्थामा रहेको मानन्धरको दावी हो ।
मध्यपुर थिमि सहकारी संस्थाले मध्यपुर थिमिको निगू पुखू क्षेत्रमा खुल्ला रक्तदान र निःशुल्क दन्त शिविरको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा र डेन्टल आर्ट मल्टिस्पेसियालिटी क्लिनिकको समन्वयमा सम्पन्न शिविरमा ११३ जना सदस्यहरुले स्वास्थ्य जाँच गराएका थिए ।
स्वास्थ्य शिविर पश्चात् भएको छलफल कार्यक्रममा संयोजक डा. उज्ज्वल जोशीले शिविरमा डेन्टल टेस्ट, एक्सट्रयाकसन, फ्लोराइडिङ लगायतको दाँत सम्बन्धिको विशेषज्ञ सेवा प्रदान गरिएको जनाए ।
त्यस्तै, रेडक्रस उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रगतमा देखिएको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । पछिल्लो समय रगतको माग बढी रहेको श्रेष्ठको भनाइ थियो ।
समाजप्रतिको उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा संस्थाले शिविरको आयोजना गरेको हो । कार्यक्रमलाई संस्थाको शिक्षा उपसमिति र महिला उपसमितिले संयोजन गरेको हो ।
Categorized in बिजनेस