arin enterprises

भारतले चामल निर्यात गर्न बन्द गर्यो

SamacharDesk | २०८० श्रावण ४, बिहिबार

भारतले चामल निर्यातमा रोक लगाएको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ ।

नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ । सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्याएउने उल्लेख गरिएको छ ।

भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आर्थिक वर्ष २०७९र८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो ।

भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको दाबी भारतीय सञ्चार माध्यमको छ ।

Categorized in बिजनेस