रोवोट सम्बन्धी प्रदर्शनी “टेक–एक्स २०२३” हुने
SamacharDesk | २०८० श्रावण ९, मंगलबार
आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजले स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना गर्ने भएको छ ।
आउँदो बिहीबारदेखि डिल्लीबजार काठमाडौँस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी शुरु हुन लागेको हो ।
आईतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा गरिने जनाइएको छ ।
यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् ।
जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् ।
यसैगरी आयोजकका अनुसार कोलोनीका लागि आगलागी सम्बन्धी सुचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिने छन् ।
यस बाहेक रिमोट मनिटरिङ सहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।
स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन् ।
यही साउन ११–१४ सम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ ।
आईओटी एक्सपोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्स्पोको नाममा प्रस्तुत गरिंदैछ ।
Categorized in विज्ञान-प्रविधी