वडा २५ सदस्यमा संजयकाे दावी
SamacharDesk – बिराज | २०७८ चैत्र ३०, बुधबार

सरकारले आउँदो बैसाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनको माहौल पनि तातिँदै गएको छ ।
काठमाडौं महानगरपालिका प्रमुखका लागि मात्रै १५ जनाभन्दा बढिले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैबीच केही स्थानीय युवाहरुले वडा तहमा आआफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा वडा सदस्य पदका लागि स्थानीय युवा संजय महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले उम्मेदवारी दावी गरेका हुन् ।
केही दिन अघि मात्रै उनले वडा तहमा जनप्रतिनिधिको रुपमा टोल, समाजलाई योगदान दिने सोच बनाएको भन्दै उम्मेदवारी दावीको घोषणा गरेका थिए ।
‘स्थानीय सरकारको जनप्रतिनिधिको रुपमा टोल, समाज र वडालाई सक्दो योगदान दिने सोचमा’ आफ्नो स्टाटसमा संजयले लेखेका छन् ।
अमूर्त खालको स्टाटसमा संजयले वडा तहमा अध्यक्ष वा सदस्य कुन पदमा उम्मेदवारी दिने भन्ने खुलाएका छैनन् । समाचारडेस्कसँगको कुराकानीमा भने उनले आफुले वडा सदस्य पदमा उम्मेदवारी दिने सोच बनाएको खुलाए ।
वडा सदस्यको रुपमा आफुले वडाबासीलाई स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहज पहुँच बनाउने, स्तरीय सेवा छरितो रुपमा दिने योजना बनाएको संजयले बताए ।
साथमा स्थानीय ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षण, सम्वद्र्धनमा पनि योगदान पुर्याउने उनले बताए ।
पहिलो लकडाउनको समयमा करीब दुई सय दिनसम्म निरन्तर फुटपाथ पसल हटाउ अभियानमा सक्रिय भएका संजयले आफु वडा सदस्यमा निर्वाचित भएर आइसकेपछि २५ वडालाई फुटपाथ पसल मुक्त क्षेत्र बनाउनका लागि पर्ने बताए ।
‘काठमाडौंको पुरानो भित्री बस्तीको बाटोहरु साँघुरो छ, फुटपाथ पसलहरुको कारणले बटुवाहरुलाई निकै समस्या भएको छ । साथमा मठमन्दिरमा फुटपाथ पसल राख्नाले सांस्कृतिक सम्पदाको सौन्दर्यमा समेत ढक्का लागेको छ । यो समस्यालाई पनि प्राथमिकतामा राखेर काम गर्नेछु’ संजयको भनाई हो ।
विगतको केही समय जापानको संचारमाध्यममा फोटो पत्रकारका रुपमा काम गरेका काठमाडौंको बाङ्गेमुढा टोल निवासी संजय जापानबाट फर्केपछि विभिन्न संघसंस्थामार्फत समाज सेवामा सक्रिय रहेका छन् ।
आफ्नो चुनावी प्रचार प्रसारलाई अगाडी बढाउन उनले बाङ्गेमुढामै सम्पर्क कार्यालय पनि खोलिसकेका छन् ।
Categorized in स्थानीय