arin enterprises

सिथि नखः पर्व मनाईँदै

SamacharDesk – बिराज | २०७८ आषाढ २, बुधबार

आज जेष्ठ शुक्ल षष्ठी, उपत्यकाका नेवार समुदाय सिथि नखः पर्व मनाउँदैछन् ।

आजको दिन विशेष गरेर कुमारको पूजा गर्ने गरिन्छ । कुमारको पूजा गरिने दिन भएकोले आजको दिनलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ ।

आजको दिन घरको मूल ढोकामा पनि पूजा गर्ने गरिन्छ । घरको मूल ढोकामा कुमार विराजमान रहेको विश्वासका साथ पूजा गरिने हो । यसको साथमा स्थानीय देवीदेवताहरुलाई पनि विधिपूर्वक पूजा गर्ने गरिन्छ ।

साथै मास, मुगीको वः को साथमा चामलको पिठोको चतांमरिसमेत बनाएर देउतालाई चढाउनुका साथै परिवार बसेर खाने पनि गरिन्छ ।

नेपालको नेवाः समुदायलाई मौसम वा समय अनुसार परिकार पकाएर खान जानेको समुदाय भन्ने गरिन्छ ।

मनसुनको स्वागत गर्ने पर्वको रुपमा लिइने सिथि नखः पछि रोपाईँ शुरु गर्ने गरिन्छ । वर्षा अघिको अन्तिम पर्वको रुपमा पनि यसलाई लिइन्छ ।

वर्षातको मौसममा रोगव्याधी फैलिने सम्भावना बढ्ने र रोपाईँमा शारिरीक परिश्रम पनि निकै हुने हुँदा आफ्नो शरीरलाई बलियो बनाउन पौष्टिकताले भरिपूर्ण वः खाने गरिएको देखिन्छ ।

आजको दिनमा सरसफाईको पनि विशेष महत्व रहने गर्दछ । सिथिनखःमा कुवा, इनार, ताल, पोखरी, ढुङ्गेधारालगायतका पानीको श्रोतको सरसफाइ गर्ने गरिन्छ ।

आज पानीको श्रोत, मुहान सफा गरेमा वर्षभरि पानीको अभाव नहुने जनविश्वास रहि आएको छ ।

हुन त पानी प्राणी जगतको लागि नभई हुन्न । पानी बिनाको जीवनको त कल्पना पनि गर्न सकिन्न ।

वर्षासँगै पात पतिंगर अथवा अन्य फोहर बगाएर ल्याइ पानीको श्रोत बन्द नहोस्, पानीको दुःख नहोस् भनेर पनि यसरी पानीको श्रोतको सरसफाइ गर्ने गरिएको देखिन्छ ।

त्यस्तै यस प्रचलनको प्रत्यक्ष सम्वन्ध खेतीपातीसँग पनि जोडिएको देखिन्छ ।

रोपाईँ शुरु गरेपछि खेतको लागि आवश्यक पानीको अभाव नहोस् भनेर पनि यस किसिमले सरसफाई गर्ने गरिएको पाइन्छ भने खेतमा पानी पुर्‍याउनका लागि व्यवस्था मिलाउन पनि आजको दिनमा किसानहरु विशेष रुपमा जुट्ने गरेको देखिन्छ । 

Categorized in संस्कृति