मच्छेगाउँमा खेलाडीहरूलाई सम्मान
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८२ श्रावण १८, आइतबार

काठमाडौंको चन्द्रागिरि नगरपालिका मच्छेगाउँमा खेलकुदका विभिन्न विधाका विजेताहरूलाई सम्मान गरिएको छ ।
नरहरिपुर शाखा कराते डोजोले चन्द्रागिरिको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान गरेको हो । साथमा डोजोमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई दीक्षित पनि गरिएको हो ।
सम्मानित हुनेहरुमध्ये क्ल्याप पुल–अपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने सुनिल खड्का, १३ औं सागमा कराते कातामा स्वर्ण पदक जितेका प्रवीण मानन्धर, ८ औं दक्षिण एसियाली खेलकुद र भुटानमा भएको खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका स्वनिम मानन्धर हुन् ।
यसैबीच, सञ्जु देशार, मनिष कार्की, सिर्जना महतरा, अमृत थोकर, प्रथम मानन्धर र मानबहादुर किङरिङलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले सम्मान गरेका थिए ।
सगरमाथा सफलतापूर्वक आरोहण गरेका डोजो खेलाडी विधान श्रेष्ठलाई पनि समारोहमा सम्मान गरिएको थियो ।
१२ विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मच्छेगाउँको नरहरिपुर डोजोमा दीक्षित गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर गिरिले नरहरिपुर डोजोले उत्पादन गरेका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम कमाएकोमा धन्यवाद दिँदै डोजो सुधार गर्न आफू सहयोग गर्न तयार रहेको बताए ।
उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा मार्फत खेलाडीहरूलाई प्रोत्साहन भत्ता प्रदान गर्न खेलकुद ऐनसँगै कार्यविधि र नियमावली बनाउन सकिने बताए ।
खेलकुद क्षेत्रको विकास गर्न कभर्ड हल निर्माणमा सहयोग गर्ने आश्वासन पनि दिए ।
प्रमुख प्रशिक्षक रविन्द्र मानन्धरले प्रशिक्षण दिएका खेलाडीहरुलाई गरिएको सम्मान र दीक्षान्त समारोह डोजोका अध्यक्ष सानुभाइ थापा मगरको अध्यक्षतामा भएको थियो ।
Categorized in स्पाेर्ट्स