स्टार रेसलर स्कट हलको निधन
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १, मंगलबार

रेसलिङ जगतका चर्चित रेसलर स्कट हल (रेजर रामन) को निधन भएको छ ।
रेसलिङ जगतको सर्वोच्च संस्था डब्लुडब्लुईका हल आफ फेमर स्कट हलको हृदयघातका कारण निधन भएको हो । ६३ बर्षिय स्कट हललाई तेश्रो पटकको हृदयघात पछि अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएपछि उनलाई केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
उनको केही समय अघि मात्र हिप इन्जुरी भएको थियो । सो इन्जुरी पछि उनको अवस्था बिग्रिँदै गएको हो ।
२० अक्टोबर १९५८ मा अमेरिकामा जन्मेका स्कट हलले सन् १९८४ मा आफ्नो रेसलिंग करियर सुरु गरेका थिए । त्यसपछि १९९१ मा विश्व च्याम्पियनसिप रेस्लिङमा प्रवेश गरे ।
यस्तै १९९२ मा उनी डब्लुडब्लुइमा अनुबन्धित भएका थिए । डब्लुडब्लुईमा अनुबन्धित भएपछि उनी रिंगमा रेजर रामोनको नामले पनि चिनिन थालेका थिए ।
स्कट हललाई डब्लुडब्लुइका ठूला सुपरस्टारहरूमा गनिन्छन् ।
उनले डब्लुडब्लुइ (तत्कालीन डब्लुडब्लुएफ) मा चार पटकसम्म्म इन्टरकन्टिनेन्टल च्याम्पियन बनेका छन् भने २०१४ र २०२० मा गरी दुई पटक हल अफ फेम घोषित भएका छन् ।
त्यसैगरी वर्ल्ड च्याम्पियनशीप रेसलिङ (डब्लुसिडब्लु) मा वर्ल्ड टेलिभिजन च्याम्पियन, दुई पटक युनाइटेड स्टेट्स हेभिवेट च्याम्पियन र सातपटक ट्याग टीम च्याम्पियन बनेका छन् ।
उनले टोटल ननस्टप एक्सन (टिएनए) का लागि पनि खेलेका छन् भने टिएनएमा पनि ट्याग टीम च्याम्पियन बनेका छन् ।
आफ्नो जीवनमा उनी विभिन्न विषयमा विवादित पनि बनेका छन् । उनलाई १९८३ मा एकजना मान्छेलाई गोली हानी हत्या गरेको आरोप लागेको थियो ।
सो मुद्दामा उनले आत्म सुरक्षाको लागि गोली चलाएको बताएका थिए । प्रमाणको अभावमा आरोप प्रमाणित भने हुन सकेन ।
लागू पदार्थ दुर्व्यसनीको शिकार हुन पुगेका स्कट हलको १९९८ मा आफ्नी श्रीमति डाना ली बर्जियोसँग सम्वन्ध विच्छेद भएको थियो ।
सन् १९९४ मा सन माइकल्ससँग इन्टरकन्टिनेन्टल च्याम्पियनशीपका लागि भएको ल्याडर म्याच उनको जीवनको सबैभन्दा ठुलो म्याच मानिन्छ ।
Categorized in स्पाेर्ट्स