arin enterprises

फोहरबाट आम्दानी गर्न थाले विद्यार्थीहरुले

SamacharDesk – बिराज | २०८१ फाल्गुण १०, शनिबार

काठमाडौं महानगरपालिका वडा २२ न्यूरोडस्थित हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् ।

सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र वालबालिका (वावा) उपसमूहका विद्यार्थीहरु विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर विक्री गर्न थालेका हुन् ।

शुक्रबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुको फोहर विक्री गर्ने अभ्यासको अवलोकन गरिन् ।

यसक्रममा उपप्रमुख डंगोलले विद्यार्थीहरुलाई फोहर कहाँबाट प्राप्ती, प्राप्त भएको फोहरको बर्गीकरणको तरीका, सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका उपाय लगायत बारेमा जानकारी लिएकी थिइन् ।

विद्यार्थीहरुले उपप्रमुख डंगोलकै अगाडि वर्गीकरण गरिएको फोहर निकालेर तौल गर्दै विक्री गरेका थिए ।

यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा ४ खण्ड छन् । बिचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा ८ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ ।

यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यवसायिक रुपमा विक्री गर्न राखिएको जस्तै देखिन्छ ।

उपलब्ध ठाउँमा विद्यार्थीहरुले गरेको यो प्रयासको प्रशंशा गर्दै उपप्रमुख डंगोलले थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन दिइन् ।

‘बाल उमेरमा सिकेको ज्ञानले जीवनभरी काम दिन्छ । यसकारण बालबालिकालाई वातावरणीय सुधारका लागि दायित्व बोध गराउन वावा कार्यक्रम प्रभावकारी रहेकोले यसलाई बुक फ्री फ्राइडेसँग जोडिएको हो’ डंगोलले भनिन् ।

कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनर्भरणको कार्यक्रम कार्यान्वयन गरिने बताए ।

Categorized in स्थानीय