तराईमा होलीको रौनक, जनकपुरधाममा महामूर्ख सम्मेलन
SamacharDesk | २०७९ फाल्गुण २३, मंगलबार

रंगहरूको पर्व होली आज तराईका जिल्लामाहरूमा हर्षाेल्लासपूर्वक मनाइँदै छ । हिजो सोमबार पहाडी क्षेत्रमा होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक(फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ ।
मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । पहाडमा दिनभरी होली धूमधामसँग मनाएर बेलुका होलीका चीरदह गरिन्छ भने तराइमा भने चीरदहनपश्चात होली मनाउने चलन अनुरुप पहाडमा होली मनाएको भोलिपल्ट मनाउँदै आइरहेको छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।
यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ । जनकपुरधाममा हरेक वर्ष जस्तै यस वर्ष पनि सो प्रतियोगिता तथा सम्मेलन सुरु भएको छ ।
हिजो सोमबार मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको पहिलो दिन लोप भइरहेको होलीको जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको हो ।
डेढ दर्जन होरैया समूहको सहभागिता रहेको होली महोत्सवमा विभिन्न जिल्लाका होरैया समूह सहभागी थिए ।
होली महोत्सवमा सहभागी भएका होरैया टोलीलाई मिथिला नाट्यकला परिषद्ले पुरस्कृत पनि गर्दै आएको छ । प्रथम, द्वितीय तथा तृतीय हुने समूहलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्ने गरिन्छ ।
जानकी मन्दिरको प्राङ्गणमा सुरु भएको दुई दिने कार्यक्रमअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । दुई दिवसीय होली महोत्सवअन्तर्गत आज मङ्गलबार आयोजना हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको हो ।
महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति दौडमा रहेको मिथिला नाट्यकला परिषद्ले जनाएको छ ।
आज विशिष्ट शैलीमा उद्घाटन, मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुती, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिने छ ।
विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।
Categorized in राष्ट्रिय