arin enterprises

फोहोर फ्याँक्न शुल्क

SamacharDesk | २०८० आषाढ २७, बुधबार

काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय गरेको छ ।

नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने  निर्णय गरेको हो ।

गाउँपालिकाले आर्थिक विधेयकमार्फत प्रस्ताव पारित गरी फोहोरका गाडीहरुलाई पटके रुपमा शुल्क उठाउने जनाएको छ ।

फोहोरका ठूला गाडीलाई प्रति गाडी एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव पारित गरिएको हो ।

स्थानीय तहलाई सवारी साधनमा कर उठाउने अधिकार नभए पनि ल्याण्डफिल साइट प्रभावित क्षेत्र भएकाले साउन १ गतेदेखि फोहोरका गाडीलाई प्रवेश शुल्क लिने निर्णय गरेको ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले बताउनुभएको छ ।

गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई त्यस विषयमा जानकारी समेत गराएको छ । काठमाडौं उपत्यकामा रहेका नगरपालिकाहरु र काभ्रेका केही स्थानीय तहहरुको गरी दैनिक ११ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ ।

दैनिक सयौं गाडी फोहोर लिएर जाने गरेका छन् । अब ती प्रत्येक गाडीले पटकैपिच्छे शुल्क तिर्नुपर्ने छ ।

Categorized in राष्ट्रिय