६ बुँदे सहमति भएपछि आन्दोलनरत शिक्षकहरु फिर्ता
SamacharDesk | २०८० आश्विन ६, शनिबार

तीनदिन प्रर्दशन गरेपछि सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधयेकमा संशोधन गर्न सहमत भएको छ ।
हिजो सरकार र शिक्षकबीच ६ बुँदे सहमति भएपछि नेपाल शिक्षक महासंघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरेर फिर्ता भएका छन् ।
महासंघको आह्वानमा शिक्षकहरुले १७ बुँदे माग राख्दै बिहीबारदेखि काठमाडौंमा प्रदर्शन थालेका थिए । शिक्षकहरु आन्दोलनमा आएपछि अधिकांश सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको थियो ।
शिक्षा मन्त्रालयसँग मात्र वार्तामा बस्न अस्वीकार गरेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा सम्वाद सुरु भएको थियो ।
६ बुँदे सहमतिमा शिक्षकहरुले चर्को विरोध गरेको कारबाहीको अधिकार स्थानीय तहलाई दिने व्यवस्थामा पुनरावलोकन गर्ने सहमति भएको छ ।
शिक्षकहरुले यो अधिकार प्रदेशलाई दिनुपर्ने माग गरेका थिए, सरकारले भने संसदीय प्रकृयाबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
यसैबीच नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ ।
महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज ९शनिबार० जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ ।
Categorized in राष्ट्रिय