तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै
SamacharDesk – बिराज | २०८३ श्रावण १, शुक्रबार
तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ यहि साउनमा काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आगामी २०८३ साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा यस सम्मेलनको आयोजना गर्न लागेको हो ।
सम्मेलनलाई नेवाः पत्रकार राष्ट्रिय दबुले संयोजन गर्न लागेको महासंघले जनाएको छ ।
महासंघले एक विज्ञप्ती जारी गर्दै विश्व आदिवासी दिवस र फोनिजको २७औं स्थापना दिवसको अवसरलाई विशेष रूपमा स्मरण गर्दै सम्मेलनको आयोजना गर्न लागिएको जनाएको छ ।
साथै संयुक्त राष्ट्र संघले सन् २०२२–२०३२ लाई आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा गरी विश्वव्यापी अभियान सञ्चालन गरिरहेको सन्दर्भमा पनि यस सम्मेलनको आयोजना गर्न लागिएको महासंघको भनाई छ ।
महासंघका अनुसार सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट आदिवासी मातृभाषी पत्रकार, सञ्चार विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षा, सञ्चार नीतिमा समावेशिता तथा मातृभाषा सञ्चारको भविष्य लगायत विभिन्न विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल, मिडिया डाइलग तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिन लागेको छ ।
सम्मेलनमा करिब २७ देशका ६० जना अन्तर्राष्ट्रिय प्रतिनिधिसहित फोनिजका देशभरका शाखा र नेवाः पत्रकार राष्ट्रिय दबू अन्य जातिय पत्रकार संगठनहरुबाट समेत गरी करिब ५ सय जना मातृभाषी पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहने अपेक्षा महासंघको रहेको छ ।
सम्मेलनको समापनका अवसरमा ’काठमाडौं घोषणापत्र’ जारी गरिनेछ ।
उक्त घोषणापत्रमार्फत मात्भाषा पत्रकारिताको संरक्षण, प्रवर्ध्दन, संस्थागत विकास, पत्रकारहरूको पेशागत सुरक्षा तथा भाषिक अधिकारको सुनिश्चिताका लागि आवश्यक नीतिगत पहल गर्न सम्बन्धित निकायहरूसँग आग्रह गरिनेछ ।
साथै आदिवासी जनजाति पत्रकारिता, मातृभाषा सञ्चार अभ्यास तथा समसामयिक चुनौती समेटिएको फोनिज प्रतिवेदन समेत सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।
सम्मेलन अवधिमै फोनिजको २७औं स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइनेछ भने मातृभाषा पत्रकारितामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई फोनिज अवार्ड समेत प्रदान गरिनेछ ।
Categorized in राष्ट्रिय




