arin enterprises

वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम रिपाेर्टर | २०८० चैत्र १४, बुधबार

वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर नगरपालिका–५ पालबारीका ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ का हाल काठमाडौं बुढनिलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने २७ वर्षीय महेन्द्र अधिकारी रहेका छन् ।

त्यस्तै म्याग्दी बेनी नगरपालिका–४ का काठमाडौं टोखा नगरपालिका–११ जाल्पाचोक बस्ने ३९ वर्षीय राममाया गुरूङ पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये सुवासले युकेमा वोर्किङ भिषामा पठाईदिन्छु भन्दै नक्कली अफर लेटर देखाई पीडितबाट १६ लाख ८० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

त्यस्तै अनुसन्धानको क्रममा महेन्द्रले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गरेको र राममायाले माल्दिभ्स पठाईदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको देखिएको प्रहरीले जानकारी गराएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले तीनै जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सुवासलाई काठमाडौंको पालबारीबाट, महेन्द्रलाई काठमाडौं जोरपाटीबाट र राममायालाई काठमाडौं कालिमाटीबाट पक्राउ गरिएको हो ।

तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ । 

Categorized in अपराध