टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइने
SamacharDesk | २०८० जेठ १, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदैछ ।
आइतबार राती रायमाझीलाई काठमाडौंको बुढानीलकण्डबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा लगेर मेडिकलपछि लैनचौर वृतमा राखिएको छ ।
आज अदालत खुलेपछि रायमाझीलाई म्याद थपका लागि लगिने छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।
त्यतिबेला उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा थिए । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई काठमाडौं आउने जानकारी गराएर रायमाझी सम्पर्कविहीन भएका थिए ।
उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । रायमाझी सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई फरारको सूचीमा राखेर खोजी गरेको थियो । पुर्जी जारी भएको ११ औं दिनमा रायमाझी काठमाडौंबाटै पक्राउ परेका हुन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफू अर्को मन्त्रालयको हुँदाहुँदै गिरोहको सर्वेसर्वा प्रतिनिधि भएर काम तमाम गर्न सघाएका थिए ।
उनीहरूकै पहलमा गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायपहिल्याउन कार्यदल गठन भएको थियो ।
यो कार्यदलको सूत्रधार रायमाझी र गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थिए । मन्त्रिपरिषद्ले शरणार्थीसम्बन्धी प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेपछि गिरोहका सदस्यले सोही प्रतिवेदन देखाउँदै रकम असुलेको थियो ।
त्यसअघि छुटदर्ता गर्ने नाममा गिरोहले प्रतिव्यक्ति १० देखि ५० लाख रूपैयाँसम्म असुली गरेको थियो । उनीहरूले तत्कालीन गृहमन्त्री खाणलगायतका नेतालाई रकम बुझाउनुपर्ने भन्दै पैसा उठाएका थिए ।
अहिलेसम्म संगठित अपराधविरुद्ध २० वटा उजुरी परेको छ । प्रहरीका अनुसार १५४ जना पीडित सम्पर्कमा आएका छन् ।
Categorized in राष्ट्रिय