arin enterprises

३ बुँदे सुझावसहित यातायात अध्ययन समितिले प्रतिवेदन बुझायो

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण ३०, शनिबार

काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझाउँदै समितिका संयोजक खड्गी श्रेष्ठले, सरोकारवालासँग गरिएको कुराकानी, स्थलगत भ्रमण अवलोकन र सहरी आवश्यकतालाई अध्ययनको आधार बनाइएको बताउनुभयो ।

‘तत्कालकाे समाधानसँगै संघ र प्रदेश सरकारको सहयोग तथा लागत सहभागितामा सवारी साधनको प्रकृतिअनुसार यात्रुवाहक बस, मालबाहक ट्रक र मालबाहक ठूला कन्टेनरका लागि छुट्टाछुट्टै टर्मिनल बनाएर सञ्चालन गर्नुपर्ने हाम्रो सुझाव छ’ संयोजक खड्गी श्रेष्ठले भन्नुभयो ।

दिगो व्यवस्थापनका लागि ‘काठमाडौँ उपत्यकाका सबै पालिका, काभ्रेका धुलिखेल, बनेपा र पनौती नगरपालिका तथा यातायात व्यवसायीसहित सरोकारवालाको सहभागितामा यातायात कम्पनी स्थापना गरेर कम्पनीमार्फत दीर्घकालीन योजना सञ्चालन गर्नुपर्ने’ सुझाव प्रतिवेदनमा दिएको खड्गी श्रेष्ठले बताउनुभयो ।

प्रतिवेदन बुझ्दै महानगर प्रमुख शाक्यले लामो दुरीका सार्वजनिक सवारी सञ्चालन र व्यवस्थापन संघ र प्रदेश सरकारको पनि जिम्मेवारी रहने हुँदा काठमाडौँ महानगरले नेतृत्व गर्ने दुवै सरकारले सहयोग गर्ने गरी योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

‘यो प्रतिवेदन ६८ औँ कार्यपालिका बैठकको एजेन्डा हुनेछ । त्यहाँबाट प्राप्त हुने सुझावका आधारमा अगाडि बढ्न सहज हुनेछ’ प्रमुख शाक्यले भन्नुभयो । ‘तत्काल बसपार्क सञ्चालन गर्न सकिने ठाउँको पूर्वाधार निर्माणमा महानगरले लगानी गर्नेछ, यसमा व्यवसायीको पनि लगानी हुनेछ ।’

समितिका सदस्यहरु नवराज पराजुली र चिनीकाजी महर्जनले अन्य पालिकाका जनप्रतिनिधिले सवारी व्यवस्थापन आफ्नो समस्याका रुपमा नबुझेको महसुस भएको अनुभव सुनाउनुभयो ।

‘सहरी व्यवस्थापनको धेरै दायित्व महानगरले लिनुपर्छ । तर, अन्य पालिकाले पनि समस्याको महसुस गर्नुपर्छ’ उहाँहरुको भनाइ थियो ।

प्रतिवेदनले मध्यम दुरीका सवारी साधनको दिगो व्यवस्थापनलाई दृष्टिगत गर्दै ३ बुँदे सुझाव दिएको छ । सुझावको पहिलो बुँदामा राष्ट्रिय यातायात व्यवसायी महासंघले मध्यम दुरीका सवारीका लागि बसपार्कका सम्बन्धमा राखेको विषयलाई समेटेको छ ।

यसमा भनिएको छ, ‘तत्काल यात्रुवाहक सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर मर्मत सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट दैनिक रुपमा सवारी साधन सञ्चालनमा ल्याउने ।’

खुल्ला मञ्चबाट सञ्चालन भएको बसपार्क ०७८ बैशाख १६ बाट बन्द गरेर महानगरले शहरी यातायातलाई ‘पिक एण्ड ड्रप’ प्रणालीबाट र मध्यम दुरीका सवारीलाई नयाँ बसपार्क गोङ्गबुबाट सञ्चालन गर्न अनुरोध गरेको थियो ।

महानगरको यो आग्रहपछि राष्ट्रिय यातायात व्यवसायी महासंघले नयाँ बसपार्क मध्यम दुरीका सवारी सञ्चालनका लागि अपायक हुने भन्दै हाललाई खुल्ला मञ्च नै उपलब्ध गराउन निवेदन दर्ता गरेको थियो ।

व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको महानगरको ६५ औँ कार्यपालिका बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

समितिको सदस्यहरुमा कार्यपालिका सदस्यहरु नवराज पराजुली, चिनियाँमान बज्राचार्य, ख्यामराज तिवारी र चिनीकाजी महर्जन हुनुहुन्थ्यो ।

उहाँहरुलाई महानगरका निर्देशक ध्रुवकुमार काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाह र प्रहरी निरीक्षक दामोदर सिलवालले सहजीकरण गर्नुभएको थियो ।

प्रतिवेदनमा, काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौँ महानगरपालिका क्षेत्र केन्द्रीत भएर चलेको तथ्याङ्क राखिएको छ ।

Categorized in स्थानीय