नागढुङ्गा–सिस्नेखोलाको आपतकालिन सुरुङ ‘ब्रेक थ्रु’
SamacharDesk | २०८० श्रावण २३, मंगलबार

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
चार वर्ष अगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो ।
हिजो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएको थियो । यो सुरुङ मार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ ।
‘ब्रेक थ्रु’ सँगै मुलुक यातायात क्षेत्रमा आधुनिक सुरुङ युगमा प्रवेश गरेको र सुरुङ मार्गको शुभारम्भ भएको बताउँदै मन्त्री ज्वालाले मुलुकको समृद्धिका लागि आजको यो क्षण ऐतिहासिक र गौरवपूर्ण भएको बताए ।
जापानको प्रविधि, सामग्री र उपकरणले निर्माण भइरहेको यो सुरुङ मार्ग जापानमा रहेका सुरुङहरूकै स्तरको बताइएको छ । आयोजनाको मुख्य सुरुङ खन्न अब पाँच सय मिटर बाँकी छ । मुख्य सुरुङमार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ ।
यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै २ वटा फ्लाइओभर समेत सँगै बनिरहेका छन् ।
गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदैछ । सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।
आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपियाँ रहेकोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट चार अर्ब ८० करोड रुपियाँ खर्च गरिने छ ।
सुरुङ मार्ग निर्माणका लागि जाइकाले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । जाइकासँग शून्य दशमलब १ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्नेगरी सो ऋण सम्झौता भएको हो ।
Categorized in राष्ट्रिय