arin enterprises

पूजारीको हत्या गरेको अभियोगमा २ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

गत भदौ ३ गते रौतहटमा हनुमान मन्दिरको पूजारीको हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले देवाही गोनाही नगरपालिका १ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेललाई पक्राउ गरेको हो ।

रौतहटको माधवनारायण नगरपालिका २ खैस्रैया चोकस्थित हनुमान मन्दिरको पूजारी ६५ वर्षीय श्रीराम साहको हत्या अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बौधिमाई नगरपालिका(७ वडकी बंकुल एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो । 

अनुसन्धानको क्रममा उक्त हत्याको घटनामा उनीहरु लगायत अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानबाट राम नरेशको बुवाले पूजारीसँग ब्याजमा रकम लिएको र रकम तिर्ने क्रममा विवाद भएको खुलेको प्रहरीले जनाएको छ ।

मन्दिर नजिक रहेको रक्सी पसलमा रक्सी सेवन गरेर मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने गरेको र घटना हुनुभन्दा ३ दिन अघि राम नरेश पटेल र पूजारी बिच बिवाद भएको प्रहरीले बताएको छ । 

यसैगरी गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा पूजारीले फरक मत राख्ने क्रममा राम नरेश पटेल लगायत अन्यसँग धेरै पटक विवाद भएपछि उनले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनास्थल नजिक रहि मानिसको आवत जावतलाई निगरानी गरेको खुल्न आएको बताइएको छ ।

घटनामा संलग्न अन्य फरार अपराधीको खोजी भइरहेको र पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 

Categorized in अपराध